काठमाडौं । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडको १ लाख ५१ हजार ५३३ कित्ता शेयरको लकइन आगामी मंसिर ५ गतेपछि सकिने भएको छ ।
कम्पनीको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त शेयर ६ महिना लकइन अवधिपछि कारोबारमा आउने भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा गत जेठ ६ गते आईपीओ बाँडफाँट गरेको थियो ।
सो मितिदेखि लकइनमा रहेको सामूहिक लगानीकोषको स्वामित्वको शेयर मंसिर ५ गतेपछि भने कारोबार गर्न मिल्नेछ । दोस्रो बजारमा १ करोड २० लाख कित्ता शेयर सूचीकृत रहेको यस कम्पनीको हाल सामूहिक लगानीकोषसँगै आयोजना प्रभावित स्थानीय, कर्मचारी र संस्थापक शेयर लकइनमा रहेको छ ।
सामूहिक लगानीकोषको स्वामित्वको शेयर ६ महिना लकइनमा रहँदा आयोजना प्रभावित स्थानीय, कर्मचारी र संस्थापकको शेयर भने तीन वर्षका लागि लकइनमा रहेको हो ।
कम्पनीको संस्थापकतर्फ ६४ दशमलव ७४ प्रतिशत र सर्वसाधारणतर्फ ३५ दशमलव २६ प्रतिशत स्वामित्व छ ।





























