सानिमा बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा १३१.१३ प्रतिशतले बढी

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य रूपमा बढेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले बढी १ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।बैंकको नाफासँगै प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल र वितरणयोग्य नाफामा पनि सुधार देखिएको छ ।

खराब कर्जा अनुपात घट्नुका साथै निक्षेप संकलन र कर्जा प्रवाहमा समेत वृद्धि भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ १५ पैसा थियो । यस आधारमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसाले बढेको छ ।

त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) पनि उल्लेख्य रूपमा सुधार भएको छ । गत वर्षको सोही अवधिमा ७.६८ प्रतिशत रहेको आरओई बढेर १५.६० प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि बढेको छ । गत वर्षको सोही अवधिमा १९ रुपैयाँ २७ पैसा रहेको प्रतिसेयर वितरणयोग्य नाफा बढेर २७ रुपैयाँ ५८ पैसा पुगेको छ ।

यसैगरी, बैंकको निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद कर्जा तथा सापटी प्रवाह भने १.६९ प्रतिशतले बढेर २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।बैंकको वित्तीय विवरणमा खराब कर्जा अनुपातमा पनि सुधार देखिएको छ ।

गत वर्षको सोही अवधिमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) घटेर २.८६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो ।

बैंकको पुँजी पर्याप्तता स्थिति पनि सन्तोषजनक देखिएको छ । वित्तीय विवरणअनुसार बैंकको प्राथमिक पुँजी पर्याप्तता अनुपात (टियर वान) ९.७० प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत कायम भएको छ ।