सिटिजन्स सुपर ५० को इकाई मंसिर २ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सुपर ५० नामक योजना सञ्चालनमा आउने भएको छ । यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकले मंसिर २ गतेदेखि उक्त योजनाको इकाई निष्कासन गर्न लागेको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गर्न लागेको हो । कुल इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको जानकारी क्यापिटलले दिएको छ । यी वाहेक बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि निष्कासनमा आउन लागेको हो ।

योजना व्यवस्थापकसँगै यो इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत सिटिजन्स क्यापिटल लिमिटेडले पुरा गर्नेछ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्नुपर्नेछ । साथै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिनेछ ।
यो इकाई निष्कासन छिटोमा मंसिर ७ गते हुनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा मंसिर १६ गतेसम्म लम्बिनेछ । खरीदकर्ताहरुले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्नुपर्नेछ । तोकिएको निष्कासन अवधिभित्रमा न्यूनतम ५० प्रतिशत अर्थात ५ करोड इकाई बिक्री हुनु पर्ने व्यवस्था छ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने जानकारी योजना व्यवस्थापकले दिएको छ । १ अर्ब रुपैयाँ आकार रहेको यो योजना बन्दमुखी प्रकृतिका १० वर्षे अवधिको रहेको छ ।