सिन्धुपाल्चोक–२ प्रदेश ‘ख’ को नेतृत्वमा रामशरण गिरी चयन

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र ‘ख’ को नेतृत्वमा रामशरण गिरी चयन भएका छन्। क्षेत्रीय अधिवेशनबाट गिरीको नेतृत्व चयन भएसँगै प्रदेशसभा क्षेत्रमा पार्टीको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको अधिवेशनमा ४५० भन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। अधिवेशनले क्षेत्रीय सभापतिसहित प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ को नेतृत्व चयन गर्नुका साथै विभिन्न क्लस्टरबाट ३५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ।

प्रदेशसभा क्षेत्र ‘ख’ को नेतृत्वमा चयन भएका गिरीले पार्टीभित्र एकता, सहकार्य र संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले अग्रजको अनुभव र युवाको ऊर्जालाई समेट्दै नेता–कार्यकर्ताबीच समन्वय बढाउने, कार्यकर्ताको योगदानको सम्मान गर्ने र नेपाली कांग्रेसको विचार तथा सिद्धान्तलाई जनतामाझ पुर्‍याउने दिशामा अघि बढ्नुपर्ने धारणा राखेका छन्।

गिरीको नेतृत्वमा प्रदेशसभा क्षेत्र ‘ख’ मा पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने, संगठनलाई जनतासँग जोड्ने र आगामी राजनीतिक चुनौतीको सामना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै गिरीले संगठन विस्तार र कार्यकर्ताको सक्रियतालाई महत्त्व दिनुपर्ने बताएका छन्।

नयाँ नेतृत्व चयनसँगै प्रदेशसभा क्षेत्र ‘ख’ मा कांग्रेसको संगठन सुदृढीकरण, नेता–कार्यकर्ताबीच सहकार्य र आगामी महाधिवेशनको तयारीले थप गति लिने अपेक्षा गरिएको छ।