काठमाडौं । आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०२६ का लागि बिडी कमर्सियल इक्विपमेन्ट सोलुसन प्लाटिनम प्रायोजक र पशुपति एग्रो ट्रेडर्स गोल्ड प्रायोजक बनेका छन्। आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र कृषि विकास बैंक लिमिटेड पनि प्रदर्शनीका सहयोगी संस्थाका रूपमा जोडिएका छन्।
प्लाटिनम प्रायोजक बिडी कमर्सियल इक्विपमेन्ट सोलुसन हिटिङ, भेन्टिलेसन एन्ड एयर कन्डिसनिङ (एचभीएसी) क्षेत्रमा क्यारियरजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका प्रविधि नेपाली बजारमा उपलब्ध गराउँदै आएको कम्पनी हो । बिडीले कृषि उपजको गुणस्तर संरक्षण र नोक्सानी न्यूनीकरणका लागि पोस्ट(हार्भेस्ट व्यवस्थापन, शीतभण्डारण तथा शीतशृङ्खला व्यवस्थापनमा समेत योगदान पुर्याउँदै आएको छ।
गोल्ड प्रायोजक बनेको पशुपति एग्रो ट्रेडर्स कृषि मेशिनरी, औजार तथा नवीन प्रविधिमार्फत नेपाली किसानमाझ आधुनिक कृषि समाधान पुर्याउँदै आएको कम्पनी हो । कृषि क्षेत्रमा आधुनिक उपकरण तथा प्रविधिको पहुँच विस्तार र कृषि यान्त्रिकीकरण प्रवर्द्धनमा कम्पनीले पुर्याउँदै आएको योगदानलाई सहकार्यको महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेको छ।
प्रदर्शनीको सहयोगी संस्थाका रूपमा जोडिएको आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालिले ‘सोइल टु सेल’ अवधारणाअन्तर्गत कृषि उत्पादनदेखि बजारीकरणसम्मको मूल्य शृङ्खलामा काम गर्दै आएको छ। कम्पनीले किसानलाई उत्पादनपछिको व्यवस्थापनसम्बन्धी समाधान उपलब्ध गराउनुका साथै कोल्ड स्टोर र कोल्ड शृङ्खला व्यवस्थापनमा काम गर्दै आएको छ। किसान क्रेडिट कार्डमार्फत वित्तीय सेवा तथा अनलाइन प्लेटफर्मबाट कृषि यन्त्र र सामग्रीको बिक्री वितरणमा समेत कम्पनी संलग्न छ।
सहयोगी संस्थाका रूपमा प्रदर्शनीसँग जोडिएको कृषि विकास बैंक लिमिटेड कृषि क्षेत्रमा वित्तीय पहुँच विस्तार, कृषि कर्जा तथा बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । बैंकको सहभागिताले कृषि उद्यम र यान्त्रिकीकरणमा लगानी विस्तारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघले सामाजिक सञ्जालमार्फत चारै संस्थालाई प्रदर्शनीको प्रायोजन तथा सहकार्यका लागि स्वागत गर्दै कृषि यान्त्रिकीकरण र आधुनिकीकरणमा उनीहरूको योगदानको प्रशंसा गरेको छ। आयोजकका अनुसार प्रदर्शनीका लागि प्रायोजक तथा सहयोगी संस्थाहरू थपिने क्रम जारी छ। कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजना तथा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा तथा कृषि तथा वन मन्त्रालयको प्रवर्धनमा प्रदर्शनी आयोजना हुँदैछ। ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ प्रदर्शनी आगामी मंसिर ४ देखि ६ गतेसम्म ९नोभेम्बर २० देखि २२, २०२६० काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल
रहने आयोजकको अपेक्षा छ। तीन दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ। प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रस्तुत गरिनेछ। यसले किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नवीन प्रविधिबारे जानकारी दिनुका साथै कृषि उत्पादनलाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




























