ज्ञानोदय आधारभूत विद्यालयमा सागरजंग दनुवार प्रधानाध्यापक नियुक्त

पाँचखाल, काभ्रे पाँचखाल नगरपालिका वडा नं. २ मा अवस्थित ज्ञानोदय आधारभूत विद्यालयको प्रधानाध्यापक पदमा सागरजंग दनुवार नियुक्त भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा बसेको बैठकले दनुवारलाई विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व सम्हाल्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

नवनियुक्त प्रधानाध्यापक दनुवारसँग शिक्षा क्षेत्रमा करिब १८ वर्षको अनुभव रहेको छ। उनले यसअघि पाँचखाल–६ स्थित नभ प्रतिभा माध्यमिक विद्यालयमा १६ वर्षसम्म अध्यापन तथा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए भने महाभारत गाउँपालिका–२ मा रहेको कालीदेवी माध्यमिक विद्यालयमा २ वर्ष सहायक प्रधानाध्यापकका रूपमा कार्य अनुभव हासिल गरेका थिए ।

शिक्षण सेवासँगै दनुवार स्काउटिङ क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् । उनी दक्ष स्काउट मास्टर (Scout Master) तथा रोभर लिडर (Rover Leader) हुन् । उनको यस अनुभवले विद्यालयमा अनुशासन, नेतृत्व विकास तथा अतिरिक्त क्रियाकलाप प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको कुरा ब्यवस्थापन समितीका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

नियुक्तिपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले विद्यालयको समग्र सुधारका लागि सक्षम, अनुभवी र ऊर्जाशील नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै दनुवारको नियुक्तिले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक दनुवारले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार प्रकट गर्दै आफ्नो दीर्घ अनुभव र स्काउटिङबाट आर्जित अनुशासनलाई उपयोग गरी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त प्रधानाध्यापक दनुवारलाई विद्यालय परिवार, शिक्षक, कर्मचारी तथा अभिभावकहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

विद्यालयको शैक्षिक उन्नयन, गुणस्तर सुधार र विद्यार्थीमैत्री वातावरण निर्माणमा उहाँको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ।