nada long banner ad

बुटवलका प्रकाश भुसालको प्रधानमन्त्री बालेन शाहलाई खुल्ला पत्र

पछिल्ला केही महिनामा देशमा भएका विभिन्न राजनीतिक तथा सामाजिक घटनाले नागरिकहरूमा किन जन्माउदैछ अनेकौं प्रश्न ?

बुटवल कालीकानगरका प्रकाश भुसालले प्रधानमन्त्री बालेन शाहलाई एक सचेत तथा शुभचिन्तक नेपाली नागरिकका हैसियतले खुल्ला पत्र लेखेका छन् । उनले सरकारको सफलताको शुभेच्छा प्रकट गदै आलोचना भन्दा पनि सुझाव,जनविश्वास, पारदर्शिता र संवादको आवश्यकतामा जोड दिएका छन् । उनले भनेका छन् ।

सम्माननीय प्रधानमन्त्री श्री बालेन शाहज्यू,

सादर नमस्कार।

म कुनै राजनीतिक दलको प्रशंसक , बालीगरे कार्यकर्ता वा अन्धोभक्त होइन , न त कसैको विरोधी नै। म एउटा सामान्य नेपाली नागरिकको हैसियतले यो खुला पत्र लेख्दैछु। तपाईं नेतृत्वको सरकारले पाँच वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरोस् भन्ने मेरो मनदेखि चाहना छ। किनकि सरकार सफल हुँदा अन्ततः देश र जनताले नै लाभ पाउँछन्।

सम्माननीय प्रधानमन्त्रीज्यू,

पछिल्ला केही महिनामा देशमा भएका विभिन्न राजनीतिक तथा सामाजिक घटनाले नागरिकहरूमा अनेकौं प्रश्न जन्माएका छन्। आन्दोलनका घटनाहरू, विभिन्न दलभित्र देखिएका मतभेद, पूर्वी मधेसमा देखिएको तनाव, सामाजिक सद्भावमा आउन सक्ने चुनौती, सरकारका केही निर्णयप्रति बढ्दो असन्तुष्टि तथा नेतृत्वको सार्वजनिक उपस्थितिबारे उठेका प्रश्नहरूले जनविश्वासलाई प्रभाव पार्न सक्छन्। यस्ता विषयमा सरकारले समयमै संवाद, स्पष्टता र संवेदनशीलता देखाउनु आवश्यक छ।

प्रधानमन्त्रीको सचिवालय सरकारको अनुहार हो। सचिवालयमा योग्य, अनुभवी, आलोचना सुन्न सक्ने र सत्य बोल्न सक्ने व्यक्तिहरूको उपस्थिति अत्यन्त आवश्यक हुन्छ। प्रधानमन्त्रीसम्म वास्तविक सूचना पुग्न नसक्ने अवस्था बनेमा निर्णय प्रक्रिया कमजोर हुन सक्छ। त्यसैले तपाईंलाई मनपर्ने कुरा मात्र होइन, जनताको वास्तविक आवाज पनि सुन्ने संयन्त्र बलियो बनाउनु आवश्यक देखिन्छ।

लोकतन्त्रमा बलियो प्रतिपक्ष सरकारको शत्रु होइन, लोकतन्त्रको आवश्यक अंग हो। प्रतिपक्षका उचित सुझावलाई सम्मानपूर्वक सुन्ने, गलत सूचना भए तथ्यसहित जवाफ दिने र राष्ट्रिय हितका विषयमा सहकार्य गर्ने संस्कृतिले सरकारको परिपक्वता झल्काउँछ।

हाल विद्युत, शिक्षा र स्वास्थ्यजस्ता प्रत्यक्ष जनजीवनसँग जोडिएका क्षेत्रमा लगाइएका कर वा शुल्कका विषयमा जनस्तरमा व्यापक बहस देखिएको छ। यदि यस्ता नीतिले नागरिकलाई अनावश्यक आर्थिक भार पर्ने अनुभूति गराउँछन् भने सरकारले यसको उद्देश्य, प्रभाव र औचित्य स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ। पुनरावलोकन गरे पनि जनविश्वास कायम राख्न अझ जनतालाई स्पष्ट पार्नुपर्ने देखिन्छ ।

त्यसैगरी, राष्ट्रिय महत्वका कार्यक्रम वा सर्वदलीय बैठकजस्ता अवसरमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूको उपस्थितिले संवाद, विश्वास र राजनीतिक स्थिरतालाई बल दिन्छ। अनुपस्थित रहनुपर्ने अवस्था आए पनि त्यसको स्पष्ट कारण र वैकल्पिक संवादको व्यवस्था गरिनु जनविश्वासका लागि महत्त्वपूर्ण हुन्छ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

सरकार टिकाउने शक्ति केवल संसद्को अंकगणित होइन, जनताको विश्वास हो। जनताको विश्वास जित्न सकियो भने राजनीतिक चुनौतीहरू पनि सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ। तर जनताको भावना सुन्न ढिलाइ भयो भने साना असन्तुष्टिहरू पनि ठूलो राजनीतिक संकटमा परिणत हुन सक्छन्।

म तपाईंलाई केही विनम्र सुझाव दिन चाहन्छु–

१. जनतासँग नियमित प्रत्यक्ष संवाद गर्ने परम्परा बसाल्नुहोस्।

२. सचिवालयलाई थप व्यावसायिक, उत्तरदायी र तथ्यमा आधारित बनाउनुहोस्।

३. आलोचनालाई शत्रुता होइन, सुधारको अवसरका रूपमा लिनुहोस्।

४. राष्ट्रिय महत्वका विषयमा सबै राजनीतिक दलसँग संवाद बढाउनुहोस्।

५ .शिक्षा, स्वास्थ्य र विद्युतजस्ता संवेदनशील क्षेत्रमा निर्णय गर्दा दीर्घकालीन सामाजिक प्रभावलाई प्राथमिकता दिनुहोस्।

६. सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सधैं पहिलो प्राथमिकतामा राख्नुहोस्।

७. सरकारको प्रत्येक निर्णयमा पारदर्शिता र जवाफदेहितालाई अझ सुदृढ बनाउनुहोस्।

अन्त्यमा, मेरो एउटै शुभेच्छा छ—तपाईंको नेतृत्वमा रहेको सरकारले लोकतान्त्रिक मूल्य, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राख्दै आफ्नो पाँच वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरोस्। सफलता केवल सरकारको होइन, सम्पूर्ण नेपाली जनताको हुनेछ।

शुभेच्छासहित,

एक सचेत तथा शुभचिन्तक नेपाली नागरिक

प्रकाश भुसाल ,बुटवल,११ कालिकानगर