काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ ‘क’ बाट प्रदेश प्रतिनिधि (पेशागत विषयविज्ञ) पदमा एरोनोटिकल इन्जिनियर मोतीराम इटनीले उम्मेदवारी दर्ता गराएका छन्।
पार्टीको आन्तरिक निर्वाचनमा उम्मेदवारी दर्तासँगै इन्जिनियर इटनीले क्षेत्रीय प्रतिनिधि, पालिका तथा वडा सभापतिहरू र अग्रज नेताहरूसँग मत र सहयोगका लागि औपचारिक अपिल गरेका छन्। आफ्नो पेसागत ज्ञान, अनुभव र क्षमतालाई पार्टी संगठनको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन इमानदार भएर लाग्ने बताएका छन्। पार्टीको नीति, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने उनको भनाइ छ।
पेसाले एरोनोटिकल इन्जिनियर रहेका इटनीसँग विभिन्न एयरलाइन्स तथा उड्डयन क्षेत्रसँग सम्बन्धित संस्थामा काम गरेको अनुभव छ। विमान डिजाइन तथा उड्डयनको प्राविधिक क्षेत्रमा काम गरेको अनुभवसँगै उनी पछिल्लो समय नेपालमा उड्डयन शिक्षालाई संस्थागत, व्यवस्थित र व्यावसायिक बनाउने अभियानमा सक्रिय रहँदै आएका छन्। नेपालमा उड्डयन शिक्षाको पहुँच विस्तार, विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणसँग जोड्ने तथा उड्डयन क्षेत्रका विभिन्न विधालाई शैक्षिक संरचनाभित्र विकास गर्ने उद्देश्यसहित उनले विभिन्न संस्थागत पहल गर्दै आएका छन्। हाल उनी शैक्षिक तथा उड्डयन क्षेत्रमा सक्रिय छन्।
इटनीको सामाजिक तथा राजनीतिक सक्रियता विद्यार्थी जीवनदेखि नै सुरु भएको हो। विद्यार्थी राजनीति, सामाजिक सेवा र युवासँग सम्बन्धित विभिन्न गतिविधिमा संलग्न हुँदै आएका उनले आफ्नो व्यावसायिक यात्रासँगै सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिँदै आएका छन्। उनका पछिल्ला गतिविधिमा शिक्षा, प्रविधि, युवा सहभागिता र सामाजिक सेवाका विषयहरू प्रमुख रूपमा जोडिएका छन्। बदलिँदो समय र नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्न राजनीतिक नेतृत्वमा पनि नयाँ सोच, प्रविधिमैत्री कार्यशैली र परिणाममुखी दृष्टिकोण आवश्यक रहेको धारणा उनले राख्दै आएका छन्।
उनी विपद् व्यवस्थापन तथा खोज-उद्धारमा ड्रोन प्रविधिको प्रयोगलाई व्यवहारमा विस्तार गर्ने अभियानमा समेत सक्रिय छन्। रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा बाढी तथा अन्य विपद्का समयमा ड्रोन र थर्मल ड्रोन प्रविधिको प्रयोग गरी खोज तथा उद्धार अभियान सञ्चालन गर्न उनले प्राविधिक टोलीको नेतृत्व गरेका छन्। कठिन भूगोल, सडक सम्पर्क विच्छेद भएका क्षेत्र तथा जोखिमपूर्ण स्थानमा परम्परागत माध्यमबाट पुग्न कठिन अवस्थामा ड्रोन प्रविधिलाई सहयोगी माध्यमका रूपमा प्रयोग गरिएको छ। सडक सम्पर्क टुटेका गाउँहरूमा खाद्य तथा राहत सामग्रीको ढुवानी, फसेका व्यक्तिको खोज तथा उद्धार, सुरुङ तथा कठिन भौगोलिक संरचनामा रहेका मानिसको अवस्थाबारे जानकारी संकलन लगायतका कार्यमा ड्रोन प्रविधिको प्रयोग गर्ने प्रयास गरिएको छ। यी गतिविधिले नेपालमा ड्रोनलाई केवल फोटो तथा भिडियो खिच्ने उपकरणका रूपमा मात्र नभई खोज तथा उद्धार, राहत व्यवस्थापन, आपत्कालीन पूर्वाधार तथा मानवीय सेवामा प्रयोग गर्न सकिने प्रविधिका रूपमा विकास गर्ने सम्भावनालाई थप उजागर गरेको छ।
इटनीले प्रविधि, शिक्षा, रोजगारी, उद्यमशीलता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै नयाँ पुस्तालाई नीति निर्माण र नेतृत्वको प्रक्रियामा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै आएका छन्। समाज परिवर्तन केवल राजनीतिक नाराबाट सम्भव हुँदैन; त्यसका लागि शिक्षा, प्रविधि, सीप, व्यवस्थित संस्थागत संरचना र नागरिक सहभागितालाई समान रूपमा अघि बढाउन आवश्यक हुन्छ भन्ने उनको बुझाइ छ। यही सोचका साथ उनले आफ्नो व्यावसायिक ज्ञान र सामाजिक अनुभवलाई सार्वजनिक सेवासँग जोड्ने प्रयास गर्दै आएका छन्।
धादिङ क्षेत्र नं. २ ‘क’ मा पेसाकर्मी र युवा वृत्तमा राम्रो प्रभाव रहेका इन्जिनियर इटनीले प्रदेश तहमा प्रविधिमैत्री नीति, उड्डयन शिक्षाको विकास, विपद् व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग र युवा सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्। आफूलाई अमूल्य मत, विश्वास र सद्भाव दिएर विजयी गराउन सम्पूर्ण कांग्रेसजनसँग हार्दिक अपेक्षा व्यक्त गरेका छन्।





























