काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशमा सेमिनार अन “क्यापिटलाइजिङ अन टुरिजम बजेट अचिभमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी रिभ्यु – गण्डकी प्रदेश (२०८३/८४) “Capitalizing on Tourism Budget Achievement and Growth Strategy Review – Gandaki Province (2083/84)” विषयक सेमिनार सम्पन्न गरेको छ ।
बैंकका प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीको सहभागितामा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गरिएको थियो । साथै, केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको बैंकले जनाएको छ ।
गण्डकी प्रदेशका आठ जिल्लामा बैंकका १५ शाखा सञ्चालनमा छन्। यसअघि बैंकले बागमती, कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि बजेट उपलब्धि, व्यवसाय विस्तार, कर्जा गुणस्तर तथा रणनीतिक वृद्धिलगायत विषयमा केन्द्रित सेमिनार सम्पन्न गरिसकेको छ । सोही कार्यक्रमको निरन्तरतास्वरूप गण्डकी प्रदेशमा सेमिनार आयोजना गरिएको हो ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
बैंकले डिजिटल तथा लक्षित ग्राहक सेवाअन्तर्गत फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। त्यस्तै, युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआरमार्फत नगद झिक्न सकिने ‘क्यास बैंक टेलर’ सुविधा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६९ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।





























