काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार, काठमाडौंको पशुपतिनाथ मन्दिर सहित देशभरका प्रमुख शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।
यसपटक साउनको अन्तिम सोमबारसँगै ‘सोमप्रदोष व्रत’को विशेष र दुर्लभ धार्मिक संयोग परेकाले आजको दिनलाई अझ बढी महत्त्वका साथ हेरिएको छ । साउन महिनाभरि वा अन्य सोमबार व्रत बस्न नपाएकाहरूले पनि आजको दिन विधिपूर्वक व्रत बसी पूजाआराधना गर्नाले सम्पूर्ण मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
धार्मिक शास्त्रअनुसार सोमबारका दिन त्रयोदशी तिथि परेमा त्यसलाई ‘सोमप्रदोष’ भनिन्छ। यस्तो महासंयोगमा साँझको प्रदोषकाल (सूर्यास्त आसपासको समय) मा भगवान् शिवको पूजाआजा, जलाभिषेक र विशेषगरी दीप प्रज्वलन गर्दा घरमा सुख, शान्ति, समृद्धि र मोक्ष प्राप्त हुने जनविश्वास छ।
काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने बोलबम तीर्थालुहरूको पनि आज विशेष चहलपहल देखिएको छ ।
उपत्यकाका पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर र भक्तपुरको डोलेश्वर उपत्यकाबाहिरका त्रिवेणी धाम देवघाट, सुनसरीको पिण्डेश्वर, खोटाङको हलेसी, म्याग्दीको गलेश्वर, र दाङको धारपानी लगायतका शिवालयहरूमा पनि भक्तजनको ठूलो भीड लागेको छ ।





























