काठमाडौं । एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको असोज ७ गतेदेखि निष्कासनमा आएको इकाई खरीदका लागि आवेदन दिने समय सकिएकोछ । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुन लागेको यस योजनाका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई विक्री गरेकोहो ।
कुल इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ । सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको इकाई खरीदका लागि छिटो अवधि असोज १३ गतेसम्म मात्र आवेदन लिएको हो । यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गरिएको हो ।
यी इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी समेत एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यो योजना १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजना हो । बन्दमुखी प्रकृतिको भएकाले दोस्रो बजारमा समेत यी इकाई सूचीकृत भई कारोबार गर्न मिल्नेछ ।





























