एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोज दोस्रो साता हुने

काठमाडौं, जेठ २६ गते । नेपालको पहिलो  महिला फ्रेन्चाईज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोजमा दोस्रो साता हुने भएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै तेस्रो संसकरण तेसो संस्करण असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने जनाएको छ ।

सहभागि फ्रेन्चाईज टिम र सरोकारवालाहरुसँगको छलफलपछि तेस्रो संस्करणको मिति तय गरेको पनि आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा महिला भलिबलको क्रेजको बढिरहेको र दशैँ अगाडि हुने यस लिगमा दर्शकलाई चाडपर्वको खेलको मनोरञ्जन पनि एक साथ दिने आयोजकको विश्वास छ ।

एसियाकै पहिलो महिला भलिबल फ्रेन्चाईज लिगको रुपमा समेत रहेको यस लिगले नेपालको महिला भलिबलको विकासमा ठूलो सहयोग पुग्ने आयोजकको विश्वास छ ।

यसअघि दुई संस्करण भव्य रुपमा समपन्न भएपछि तेस्रो संस्करण अझ वृहत र परिष्कृत रुपमा सञ्चालन गर्ने आयोजकले जनाएको छ । यसअघि पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो भने दोस्रो संस्करण पोखरामा आयोजना थियो ।

तर केही प्राविधिक कारणले बिचमा स्थगित भएकोले काठमाडौंमै दोस्रो संस्करणको बाँकी खेलसहित फाईनल सम्पन्न भएको थियो । कर्णाली यशविसले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो ।

दोस्रो संस्करणमा कर्णाली यशविसहित ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, मधेश युनाईटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाले प्रतिस्पर्धा गरेका थिए ।

एभरेष्ट महिला भलिबल लिगका टेक्निकल डिरेक्टर जगदिश भट्टले तेस्रो संस्करण भव्य हुने बताए । ‘एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण गत वर्ष भन्दा अझ भव्य र उत्कृष्ट हुनेछ ।

किनभने नेपालको महिला भलिबल अहिले एफआईभिबी विश्व वरियतामा पनि समावेश छ, एसियाको शीर्ष दस वरियतामा पुगेको छ र जापानमा हुजे एसियन गेम्समा पनि छनोट भएको छ,’ भट्टले भने, ‘यस पटक काठमाडौमै लिग हुँदैछ ।

यो लिगले खेलाडीहरुले आर्थिक रुपमा पनि केही आर्जन गर्नेछन् । यसले गर्दा पनि यो लिगले नेपालको महिला भलिबल विकासमा ठूलो सहयोग पुग्छ ।’

राष्ट्रिय खलेकुद परिषदको कभर्डहलमा स्तरोन्नतीपछि काभा महिला भलिबल प्रतियोगिता देखि राष्ट्रिय स्तरका अन्य प्रतियोगिताहरु पनि आयोजना भइसकेको र यस पटक काठमाडौंमै लिग आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।