श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडौं । पोखरा एभेन्टर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।
पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ । ३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समराविक्रमाको आगमनले पोखराले ब्याटिङ र विकेटकिपङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ ।
सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेको तेस्रो श्रीलंकन र सम्रगमा छैटौं विदेशी खेलाडी हुन् ।
पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनन्य लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजन अनुबन्ध गरिसकेको छ ।
यस्तै पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउण्डर नै अनुबन्ध गरिसकेको छ । जसमा विश्व चर्चित अलराउण्डर शाकिब अल हशन सबै भन्दा ठूला खेलाडीको रुपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउण्डर मोहम्म सैफुद्दिन र स्पीन बलिङ अलराउण्डर महेदी हसनपनि अनुबन्ध भएका छन् ।
विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटम खेलिसकेका छन् । उनले श्रीलंकाका लागि ९ टेष्ट, ५५ ओडिआई र १९ टी२०आई खेल खेलिसकेका छन् ।
यस्तै लंका प्रिमियर लिगमा उनले ४ फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी२० विश्वपकमा श्रीलंकाको टिममा समावेश थिए ।
क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरको रुपमा खेल्ने गर्छन् । सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन् ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोएल्सलाई एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दैछ ।
अनुभवी खेलाडीलाई निरन्तरा दिँदै स्थानिय युवा प्रतिभालाई पनि समेटेको पोखरा एभेन्जर्सले उत्कृष्ट विदेशी खेलाडीहरु अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ र पहिलो पटक एनपीएलको उपाधि जित्ने लक्ष्य राखेको छ ।
पोखराले यस पटक मुख्य प्रशिक्षकमा पनि परिवरत्न गर्दै श्रीलंकन पूर्व क्रिकेट अजन्था मेन्डिसलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ भने विदेशी खेलाडीहरुमा पनि यस पटक नयाँ खेलाडीहरु आएका छन् । यस्तै भारतीय पूर्व क्रिकेटर तथा टी२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।