काठमाण्डौं । “स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको सम्मान र मौलिकता संरक्षण” का लागि बानेश्वरस्थित मौलिक भान्छाघरमा दशै विशेष मेला सुरु भएको छ । अन्तरराष्ट्रिय ग्रामिण महिला दिवस र बडा दशैं २०८३ को अवसरमा आयोजित मेला भोलीसम्म सञ्चालन हुनेछ । मौलिक भान्छाघरको आयोजनामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लि.र राष्ट्रिय कृषक समूह महासंघ, नेपालको सहकार्यमा भएको दुई दिने दशैं विशेष मौलिक मेला शुक्रबार र शनिबार सञ्चालन गरिने छ ।
शुक्रबारको दशैं विशेष मौलिक मेलामा च्याङग्रा, खसी, लोकल कुखुरा, मौसमी तरकारी तथा फलफुलहरु, मसला, कोदो, फापर, जौ, गहुँ तथा चामल तथा खाद्यन्न, ढाका तथा अल्लोको कपडाहरुलगायतका स्थानीय र मौलिक सामानको प्रदर्शनी गरिएको थियो । शनिबार पनि बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ । शुक्रबारको मेलामा खसी,च्याङग्राको मासु, ताजा फलफुल तथा तरकारी, मसलाजन्य सामानमा उपभोक्ताको विशेष आर्कषण रहेको थियो ।
शनिबारको मेलामा च्याङ्ग्रा, लोकल खसी, भेंडा, लोकल कुखुरा सिङ्गै तथा मासु, सेलरोटी, मासु च्यूरा, पक्कु, खिर–बाबर तथा सातै प्रदेशका रैथाने स्वाद (घर प्रयोजनका लागि प्याकेजिङ्ग सहित) किसानको कोशेली र किसानको पोकाका प्याकेजहरु, जुम्ली सिमी, भिर मौरीको मह, सिजनल तरकारी र फलफूल, तोरीको तेल, सखर, लप्सी, जुम्लाको स्याउ, ढाका तथा अल्लोको कपडालगायत सामान खििरद गर्न सकिने छ ।





























