काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राख्दै यसको प्रभावकारिता, पारदर्शिता र दिगोपना कायम गर्न नीतिगत तथा प्रणालीगत सुधारलाई तीव्रता दिएको छ ।
पछिल्लो ६ महिनामा मात्रै स्वास्थ्य बीमा कार्यक्रममा ३ लाख ६९ हजार ४७४ जना नयाँ बीमित थपिएका छन् ।
सरकारका अनुसार स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण र सहभागिता बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षको सम्पूर्ण भुक्तानीसमेत सम्पन्न भइसकेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउन सरकारले सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई समेत बीमामा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ ।
यसका लागि विभिन्न मन्त्रालय, सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्न पत्राचार गरिएको छ ।
सरकारले सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन आग्रह गरेको छ ।
स्वास्थ्य बीमालाई कागजी तथा झन्झटिलो प्रक्रियाबाट प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी प्रणालीमा रूपान्तरण गर्ने सरकारको योजना छ । बीमा कोषको वित्तीय दिगोपना कायम गर्ने, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने र नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित सुधारका काम अघि बढाइएको जनाइएको छ ।
सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा प्रणालीगत सुधार भइरहेको सरकारले जनाएको छ ।
स्वास्थ्य बीमालाई दिगो, विश्वसनीय र नागरिकमैत्री बनाउन सबै सरोकारवाला निकायको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सरकारले यस कार्यक्रमलाई व्यवस्थित बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ ।
स्वास्थ्य बीमासम्बन्धी थप जानकारीका लागि निःशुल्क हटलाइन नम्बर ११६१ मा सम्पर्क गर्न सकिनेछ ।





























