कांग्रेसको नेतृत्व लोकतान्त्रिक विधिबाटै चयन हुनुपर्छ : प्रकाश बस्नेत ‘काजी’

सिन्धुपाल्चोक। नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रकाश बस्नेत ‘काजी’ले पार्टीको नेतृत्व लोकतान्त्रिक विधि र प्रक्रियाबाटै चयन हुनुपर्ने बताएका छन्। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विधान र विधिअनुसार नेतृत्व चयन हुनुपर्ने उनको भनाइ छ। उनले गगन थापा पक्षले अघि बढाएको महाधिवेशनलाई नक्कली संज्ञा दिँदै आफूहरूले गर्ने महाधिवेशन नै आधिकारिक हुने दाबी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रदेशसभा ‘क’ र ‘ख’ को अधिवेशन आज खुर्सानीबारी कभर्ड हलमा सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

क्षेत्रीय सभापति प्रकाश बस्नेत ‘काजी’ले कांग्रेसभित्र नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि, विधान र प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीलाई बलियो बनाउन विधिसम्मत निर्णय र संगठनात्मक एकता आवश्यक रहेको उनको धारणा छ।

कार्यक्रममा मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकका लोकप्रिय तथा विकासप्रेमी नेताका रूपमा उल्लेख गर्दै उनको अग्रसरतामा जिल्लामा कांग्रेसलाई थप बलियो र सांगठनिक रूपमा सुदृढ बनाउन सकिने धारणा व्यक्त गरिएको थियो।

अधिवेशनमा कांग्रेसको संगठन विस्तार, कार्यकर्ताबीच एकता र आगामी महाधिवेशनका विषयमा चर्चा भएको थियो। पार्टीलाई थप सशक्त बनाउँदै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइएको छ।