नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गंगा बहादुर घिमिरे ‘सागर’को निधन

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेस्वारा घुमाङ स्थायी घर भएका समाजसेवी, सफल व्यवसायी तथा नेकपा एमालेका नेता गंगा बहादुर घिमिरे ‘सागर’को असामयिक निधन भएको छ। विगत करिब पाँच महिनादेखि क्यान्सर रोगसँग संघर्षरत घिमिरेको निधनले परिवार, आफन्त, सहकर्मी, शुभेच्छुक तथा राजनीतिक र व्यावसायिक क्षेत्रमा गहिरो शोक छाएको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका घिमिरे व्यवसायिक क्षेत्रमा सक्रिय र सफल व्यवसायीका रूपमा परिचित हुनुहुन्थ्यो। व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर सक्रिय उहाँ मिलनसार, सहयोगी र सरल स्वभावका व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो।

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका घिमिरे पार्टी संगठन र सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो। उहाँको निधनले नेकपा एमाले पार्टी, व्यावसायिक क्षेत्र तथा सामाजिक क्षेत्रमा अतुलनीय क्षति पुगेको छ।

बाह्रबिसे नगरपालिका–८ मानेस्वारा घुमाङसँग आफ्नो गहिरो सामाजिक सम्बन्ध कायम राख्दै आउनुभएका घिमिरे स्थानीयस्तरमा समेत लोकप्रिय हुनुहुन्थ्यो। उहाँको सहयोगी भावना, आत्मीय व्यवहार र सामाजिक योगदानलाई स्थानीयवासी तथा उहाँसँग नजिक रहेकाहरूले स्मरण गरेका छन्।

स्वर्गीय घिमिरेका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएका उहाँको निधनले परिवारमा अपूरणीय पीडा थपिएको छ।

गंगा बहादुर घिमिरे ‘सागर’को निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।