साउदी, टर्की र पाकिस्तानबीच ऐतिहासिक रक्षा सम्झौता : एकमाथि आक्रमण भए तीनै देशमाथि आक्रमण हुने उल्लेख

मक्का । साउदी अरेबिया, टर्की र पाकिस्तानले सामूहिक सुरक्षा तथा रक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित ऐतिहासिक संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्।

साउदी अरेबियाको मक्कामा भएको त्रिपक्षीय शिखर बैठकका क्रममा साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर गरेका हुन्।

सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा तीनमध्ये कुनै एक राष्ट्रमाथि भएको सशस्त्र आक्रमणलाई तीनै राष्ट्रमाथि भएको आक्रमणका रूपमा लिइने व्यवस्था गरिएको छ।

यस प्रावधानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच सामूहिक प्रतिरोधात्मक क्षमता विकास गर्ने तथा आवश्यक अवस्थामा एकअर्कालाई सुरक्षा र रक्षा सहयोग उपलब्ध गराउने आधार तयार गरेको छ।

साउदी विदेश मन्त्रालयले सार्वजनिक गरेको सम्झौतासम्बन्धी दस्तावेजअनुसार तीन देशबीच लामो समयदेखि कायम ऐतिहासिक सम्बन्ध, इस्लामिक एकता, साझा रणनीतिक हित र रक्षा सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

सम्झौताले तीन देशको सामूहिक सुरक्षा, क्षेत्रीय शान्ति र स्थायित्व प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई पनि प्राथमिकतामा राखेको छ। रक्षा सहकार्यका विभिन्न पक्षलाई विस्तार गर्दै सुरक्षा चुनौती सामना गर्न आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा तीनै देश सहमत भएका छन्।

साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा टर्कीका राष्ट्रपति एर्दोगान र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ साउदी अरेबिया पुगेका थिए।

मक्कास्थित अल–सफा दरबारमा भएको उच्चस्तरीय बैठकमा तीन देशबीचको सम्बन्ध, क्षेत्रीय सुरक्षा अवस्था तथा पारस्परिक हितका विषयमा विस्तृत छलफल भएपछि संयुक्त रक्षा सम्झौता गरिएको हो।

सम्झौतामा कुनै एक सदस्य राष्ट्रमाथि हुने सशस्त्र आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणका रूपमा परिभाषित गरिएपछि यसको रणनीतिक महत्व अझ बढेको छ।

यसले तीन देशबीचको रक्षा सम्बन्धलाई परम्परागत द्विपक्षीय सैन्य सहकार्यभन्दा माथि उठाउँदै सामूहिक सुरक्षा संयन्त्रतर्फ अघि बढाउने संकेत गरेको छ।

विशेषगरी मध्यपूर्व, दक्षिण एसिया र भूमध्यसागरीय क्षेत्रको बदलिँदो सुरक्षा वातावरणका बीच भएको यो सम्झौतालाई तीन देशबीच रणनीतिक सहकार्य विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

साझा सुरक्षा चासो र सम्भावित बाह्य चुनौतीविरुद्ध समन्वय बढाउने उद्देश्यले गरिएको यो सहमतिले आगामी दिनमा सैन्य तालिम, रक्षा प्रविधि, सूचना आदानप्रदान तथा सुरक्षा संयन्त्रमा समेत सहकार्य विस्तार गर्ने बाटो खोल्न सक्ने देखिन्छ।

तीनै देशले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

नयाँ सम्झौताले साउदी अरेबिया, टर्की र पाकिस्तानबीचको रणनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै साझा सुरक्षा हितका विषयमा तीन देशलाई थप नजिक ल्याउने अपेक्षा गरिएको छ।

यससँगै ‘मक्का संयुक्त रक्षा सम्झौता’ तीन देशबीचको सुरक्षा सहकार्यमा मात्र सीमित नरही बदलिँदो क्षेत्रीय शक्ति सन्तुलन र सामूहिक प्रतिरोधात्मक क्षमताको विकासतर्फको महत्वपूर्ण रणनीतिक कदमका रूपमा समेत चर्चामा आएको छ।