राजदरबार हत्याकाण्ड फेरि छानबिन गरिने:गृहमन्त्री गुरुङ

जेनजी आन्दोलनका मुद्दा फिर्ता गर्ने तयारी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गरेका छन् । आज पदबहाली लगत्तै उनले सो घोषणा गरेका हुन् ।
२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डबारे यसअघिका भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए ।

त्यसैगरि गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्ने तयारी गरेका छन् । आज पदभार ग्रहणलगत्तै उनले यस कार्यका लागि कार्यदल गठन गर्ने बताए ।

गृहमन्त्रीले गरेको पहिलो निर्णय नै यही रहेको छ । जेनजी आन्दोलन सम्बन्धी घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने–नसकिने सिफारिस सहितको प्रतिवेदन पेश गर्न कार्यदल बनाउने गुरुङको भनाइ थियो ।