५.२६ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै साधारण सभा बोलाएको बिन्ध्यबासिनी हाईड्रोपावरको शेयर कारोबार रोक्का

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

असोज २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

लाभांश प्रस्तावसँगै कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कात्तिक १८ गते विहान ९ः३० बजे वार्षिक साधारण सभा बोलाएको छ । लाभांश र हकप्रद प्रस्ताव सहित वार्षिक साधारण सभाको जानकारी तोकिएको समयभित्र सार्वजनिक नगरेको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

असोज २८ गते नेप्सेले कम्पनीले असोज २६ गते दिउँसो ३ः३० बजे सञ्चालक समितिको बैठकबाट गरेको साधारण सभा र लाभांश सम्बन्धि निर्णय असाज २७ गते साझ ५ः५९ बजे मात्र गराएकाले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था बमोजिम नभएको भन्दै कारोबार स्थगित गर्ने निर्णय गरको हो ।

नेप्सेले कम्पनीलाई पत्र पठाउँदै तीन दिनभित्र के कति कारणले समयमै जानकारी दिन नसकेको हो ? सोको सम्बन्धमा स्पष्टिकरण पेश गर्न पनि भनेको छ ।

कम्पनीले लाभांश र हकप्रद वाहेक साधारण शेयरमा परिणत हुने गरी ऋणपत्र जारी गर्ने र त्यसवापत्को रकम उपयोग गर्ने सम्बन्धमा पनि सभामा छलफल गर्ने उल्लेख छ ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।