सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता वरिष्ठ प्रशिक्षक प्रेमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन्।
बारबिसेमा आयोजित उम्मेदवारी दर्ता कार्यक्रममा भण्डारीले आफ्नो दाबी प्रस्तुत गरेका हुन्। नेपाली कांग्रेसमा विगत ३२ वर्षदेखि सक्रिय रहँदै आएका भण्डारी खेलकुद क्षेत्रमार्फत पनि सिन्धुपाल्चोकमा परिचित छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकका रूपमा हासिल गरेको अनुभवसँगै लामो राजनीतिक सक्रियताका कारण आफ्नो उम्मेदवारीलाई प्रतिनिधिहरूले सकारात्मक रूपमा लिएको उनको भनाइ छ।
भण्डारीले कांग्रेसभित्र पुराना पुस्ताको सम्मान र नयाँ पुस्ताको सहभागितालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। विभिन्न कारणले पार्टीको सक्रियताबाट टाढिएका पुराना तथा आदरणीय नेताहरूलाई सम्मानजनक स्थान दिनुपर्ने र नयाँ पुस्तालाई उचित अवसर, जिम्मेवारी, माया तथा हौसला प्रदान गर्नुपर्ने उनको धारणा छ।
उनले भने, “पुराना आदरणीय नेताहरूलाई कुनै न कुनै स्थान दिएर सम्मान गर्ने कांग्रेस हुनुपर्छ। विविध कारणले पार्टीबाट टाढा बसेकाहरूलाई पनि आउने प्रतिनिधिहरूले उहाँहरूको आत्मसम्मान हुने ठाउँ दिनुपर्छ। नयाँ आउनेलाई उचित मौका, इज्जत, माया र हौसला दिन सक्यौँ भने कांग्रेस नयाँ बनेछ भन्ने सन्देश समाजमा जानेछ।”
कांग्रेसको सुधार अरूबाट नभई आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिँदै भण्डारीले प्रतिनिधिको एक मतले पार्टीलाई थप व्यवस्थित र जनमुखी बनाउन योगदान पुग्ने बताए।
उनको अर्को जोड कांग्रेसको आन्तरिक संस्कार र कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा छ। “कांग्रेस कुनै आदेशबाट चल्नु हुँदैन, अनुरोधबाट चल्नुपर्छ,” भण्डारीले भने।
खेलकुद क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका भण्डारीले पार्टी राजनीतिमा पनि खेलकुद क्षेत्र, युवा पुस्ता र आम कार्यकर्ताको सहभागिता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। ३२ वर्षको राजनीतिक अनुभव, खेलकुद क्षेत्रको लामो योगदान र संगठनप्रतिको निरन्तर सक्रियतालाई आधार बनाउँदै उनले क्षेत्र नं. १ का प्रतिनिधिहरूसँग आफ्नो पक्षमा समर्थनको आग्रह गरेका छन्।





























