अर्थमन्त्री डा. वाग्ले एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समिति बैठकमा सहभागी हुन कतार प्रस्थान

काठमाडौँ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार कतारको दोहा प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी)को सञ्चालक समितिको ११ औं वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान गरेका हुन् । उक्त बैठक सोमबार र मंगलबार हुँदैछ । प्रतिनिधिमण्डलमा मन्त्री वाग्लेसँग अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल पनि छन् ।

एआईआईबीको वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा अर्थमन्त्रीले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल १४ असोजमा  कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किने कार्यक्रम छ ।