संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनको सम्बोधनको तयारी, तीनदिने अमेरिका भ्रमण हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्ने तयारी गरेका छन्। आगामी सेप्टेम्बर २२ देखि सुरु हुने महासभामा प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते साँझ सम्बोधन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। यद्यपि, सम्बोधनको अन्तिम समयतालिका भने औपचारिक रूपमा टुंगिन बाँकी रहेको छ।

प्रधानमन्त्री शाहको अमेरिका भ्रमण छोटो र प्रभावकारी बनाउने तयारी भइरहेको छ। भ्रमण अवधि बढीमा तीन दिनको हुने सम्भावना रहेको छ।

छलफलअनुसार प्रधानमन्त्री शाह सम्बोधनको अघिल्लो दिन न्युयोर्क पुग्ने, भोलिपल्ट संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्ने र त्यसलगत्तै नेपाल फर्किने गरी कार्यतालिका तयार पार्ने तयारी गरिएको छ।

संयुक्त राष्ट्रसंघ मुख्यालयले नेपालका लागि तय गरेको समयतालिका अनुसार नै प्रधानमन्त्री बालेनले महासभालाई सम्बोधन गर्ने तयारी गरेका हुन्।

न्युयोर्कस्थित नेपाली नियोगमार्फत प्राप्त महासभाको समयतालिकालाई परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ। सोही कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ को साँझ विश्व समुदायसमक्ष नेपालको धारणा प्रस्तुत गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्रीको भ्रमण टोलीलाई पनि सानो र व्यवस्थित बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री कार्यालयबाट करिब पाँच जनाको टोली सहभागी हुने गरी प्रारम्भिक तयारी गरिएको छ।

प्रधानमन्त्री बालेनका सल्लाहकार कुमार बेन, निजी सचिव तथा सहसचिव प्रदीप परियार र सल्लाहकार टोलीबाट सुवास शर्मालगायत भ्रमण टोलीमा रहने भएका छन्। यसबाहेक चिफ अफ प्रोटोकल तथा आवश्यक सुरक्षा टोली पनि सहभागी हुनेछन्।

प्रधानमन्त्रीको भ्रमण टोली बढीमा १० सदस्यीय हुने सम्भावना रहेको छ। प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री शिशिर खनाल पनि संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुनेछन्।

प्रधानमन्त्रीका रूपमा बालेनको यो महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमणलाई नेपालको कूटनीतिक उपस्थिति र विश्व समुदायसमक्ष देशको दृष्टिकोण प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।