काठमाडौं । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भागका धेरै तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मध्यमको वर्षा हुने सम्भावना छ। साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति देशभर साधारणतया बदली रहने छ भने हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो।





























