नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण तथा पुनःस्थापनाका लागि ६ करोडको सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण तथा पुनःस्थापना सेवाको विस्तारका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा.  विराजमान कर्माचार्यले उक्त आशयपत्रमा हस्ताक्षर गरेका हुन्।

नेपालमा जलन उपचार, पुनःस्थापना सेवा, कृत्रिम अंग जडान तथा डायलासिस सेवाको पहुँच र गुणस्तर सुधार गर्न आवश्यक रहेको निष्कर्षसहित दुवै संस्थाले सहकार्य अघि बढाएका हुन्।

सम्झौताअनुसार नबिल बैंकले धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ।

साझेदारीअन्तर्गत धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ। साथै अस्पतालको नेतृत्वमा अन्य प्रदेशहरूमा पनि यस्ता सुविधा विस्तार गर्ने योजना रहेको छ।
यसका अतिरिक्त दुई वटा कृत्रिम अंग जडान तथा पुनःस्थापना सेवा एकाइ स्थापना गर्न र डायलासिस सेवाको क्षमता विस्तार गर्न पनि बैंकले सहयोग गर्नेछ।

कार्यक्रममा नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले स्वास्थ्य क्षेत्रमा सार्थक परिवर्तन ल्याउने साझा उद्देश्यका कारण यो सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गरे।
उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दा कति मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकियो भन्ने मापदण्डलाई बैंकले प्राथमिकता दिने गरेको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यो साझेदारीले विशेषगरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए।

संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्वभन्दा पनि समाजप्रतिको प्रतिबद्धताका रूपमा लिएको उल्लेख गर्दै उनले परियोजनालाई सफल बनाउन बैंक पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा। रामकण्ठ माकजु श्रेष्ठले समुदायमा आधारित अस्पतालका रूपमा धुलिखेल अस्पतालले स्थापनाकालदेखि नै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरे।

नबिल बैंकसँगको सहकार्यले जलन उपचार, कृत्रिम अंग तथा पुनःस्थापना सेवा र डायलासिस उपचारलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

तीन वर्षका लागि लागू हुने उक्त सम्झौतामार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ। नबिल बैंकले यसअघि पनि विभिन्न प्रदेशमा जलनका बिरामीका लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको छ।

बैंकका अनुसार हालसम्म ५०० भन्दा बढी जलनका बिरामीले निःशुल्क उपचार पाएका छन् भने १३० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ।

साथै कृत्रिम अंग केन्द्रहरूलाई सहयोगमार्फत ३०० भन्दा बढी लाभग्राहीलाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराइसकिएको छ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्वास्थ्य, सामाजिक उद्यमशीलता, विकास र रोजगारी सिर्जनाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ।