nada long banner ad

असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने

सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह

काठमाडौं । असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार साँझ विशेष मौसमी बुलेटिन जारी गर्दै ती क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने जनाएको हो। उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भाग आसपास रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

उक्त मौसमी प्रणालीको प्रभाव बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने अनुमान गरिएको छ। सम्भावित भारी वर्षाका कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नुका साथै शहरी र तराई क्षेत्रमा डुबानको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण खोला तथा नदीमा पानीको सतहसमेत बढ्न सक्ने भएकाले सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वसतर्कता अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।