काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लागेका हुन्।
प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको असर, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा पछिल्ला प्राकृतिक विपद्बाट भएको जनधन र पूर्वाधारको क्षतिका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने तयारी गरेको छ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणअघि नै परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली न्यूयोर्क पुगिसकेको छ। खनालले महासभाका विभिन्न उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन् भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।




























