देवानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा दुई दिन शोक विदा

काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार (साउन ११–१२) शोक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।

देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार (साउन १०) राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको थियो ।

देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।

यी दुई दिन देवानगञ्ज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थामा शोक बिदा दिइएको अध्यक्ष मेहताले जारी गरेको सूचनामा जनाइएको छ ।

गोली लागेर युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न पाँच ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ ।

सुनसरीको दक्षिण क्षेत्रस्थित पाँच स्थानमा अर्को सूचना जारी नभएसम्मका निम्ति कर्फ्यु आदेश जारी गरिएको हो । सोमबार (साउन ११) बिहान ७ बजेदेखि कर्फ्यु आदेश लागु भएको छ ।