काठमाडौँ । सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उदघाटन भएकोछ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल,जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिकोले र नेपालस्थित जापानी राजदूत माएदा तोरुले संयुक्त रुपमा नागढुंगा सुरुङमार्गको उद्घाटन गरेका हुन् ।
सुरुङमार्ग निर्माण आयोजनाका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनका लागि सुरुङ खुला गरिनेछ भने त्यसपछि अन्य सवारीलाई क्रमबद्ध रूपमा प्रवेश दिइने बताइएको छ ।
आयोजनाले सुरुङमार्गमा अत्यावश्यक सवारी साधन चलाएर करिब एक हप्तादेखि १० दिनसम्मको परीक्षण गर्ने योजना बनाएको छ । त्यसपछि क्रमशस् सवारी साधन छोड्ने बताइएको छ ।
सुरुङ प्रयोगबापत टोल शुल्क तोकिएको छ । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी मिनी बस, मिनी टिपर(ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।
मल्टी एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैया र बाहिरिँदा २५० रुपैया तोकिएको छ ।
भुक्तानीलाई सहज बनाउन आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ र नगद दुवै माध्यमको व्यवस्था गरिएको छ । दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री र डिजेल, पेट्रोल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जापानको साढे २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब लगानीमा बनेको यो सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड लगायतका कारण ढिलो गरी सम्पन्न भएको हो ।
काठमाण्डौलाई धादिङ हुँदै पश्चिम नेपालसँग जोड्ने यो सुरुङमार्ग देशकै पहिलो व्यवस्थित सडक यातायात सुरुङमार्ग हो, यसले काठमाण्डौ प्रवेश तथा बाहिरिने यात्रालाई सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ । अब केही दिन सुरुङमार्ग परीक्षण अवधिमा सञ्चालन हुनेछ ।
यस अवधिमा एम्बुलेन्स, सुरक्षा निकायका गाडी तथा अरु अत्यावश्यक सेवाका गाडीलाई मात्रै सुरुङ प्रयोग गर्न दिइनेछ ।




























