मन्त्री बादी र FNCCI प्रतिनिधिबीच भेट, बाढी प्रभावित महिलाको पुनःस्थापना, रोजगारी र उद्यमशीलतामा सहकार्य गर्ने

काठमाडौँ। बाढी तथा विपद्बाट प्रभावित महिलाको पुनःस्थापना, रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग नेपाल उद्योग वाणिज्य महासंघ  (FNCCI) महिला उद्यमी विकास समितिकी सभापति सुनिता नेमाफुकी र(FNCCI) कार्यसमिति सदस्य गीता अमात्यले आज भेटवार्ता गर्नुभएको हो।

भेटवार्तामा बाढीबाट प्रभावित महिलालाई राहतपछि रोजगारीका अवसरसँग जोड्ने, स्वरोजगार तथा उद्यमशीलतामा प्रोत्साहित गर्ने र प्रभावित व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो।

प्रभावित महिलाको आवश्यकता, सीप र रुचिअनुसार रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने, महिला उद्यमीलाई व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक सीप, बजार पहुँच, व्यावसायिक सञ्जाल र निजी क्षेत्रको सहजीकरण उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।

मन्त्री सिता बादीले विपद्बाट प्रभावित महिलाको पुनःस्थापनालाई राहत वितरणमा मात्र सीमित नराखी रोजगारी र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। प्रभावित महिलालाई आफ्नो क्षमता र आवश्यकताअनुसार रोजगारी वा उद्यमको अवसरमा जोड्न सरकार र निजी क्षेत्रको सहकार्य महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

भेटवार्तामा बाढी प्रभावित महिलाको पुनःस्थापना, रोजगारी सिर्जना, महिला उद्यमशीलता प्रवर्द्धन तथा व्यवसाय पुनःसञ्चालनका लागि आगामी दिनमा सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।