nada long banner ad

विद्यालय पाठ्यक्रम परिमार्जनमा अभिभावक संघको २० बुँदे सुझाव, AI देखि जीवनोपयोगी सीपसम्म जोड दिन आग्रह

काठमाडौं । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका क्रममा अभिभावक संघ नेपाल र सामुदायिक विद्यालय अभिभावक संघले व्यवहारिक, जीवनोपयोगी, प्रविधिमैत्री तथा विद्यार्थीकेन्द्रित शिक्षालाई प्राथमिकता दिन माग गरेका छन्।पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरमा पेश गरिएको सुझावपत्रमा विद्यालय शिक्षालाई विद्यार्थीको सिकाइ उपलब्धि, रोजगारी, उद्यमशीलता, नैतिक आचरण, प्रविधिको प्रयोग, वातावरणीय जोखिम तथा सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने उल्लेख गरिएको छ। अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी, सामुदायिक विद्यालय अभिभावक संघका अध्यक्ष राम प्रसाद न्यौपाने र अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीको तर्फबाट सुझावपत्र पेश गरिएको हो।

सुझावपत्रमा पाठ्यक्रमको मूल उद्देश्य स्पष्ट गर्नुपर्ने, पाठ्यभार घटाएर सिकाइको गुणस्तर बढाउनुपर्ने तथा विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने जीवनोपयोगी सीप अनिवार्य रूपमा सिकाउनुपर्ने माग गरिएको छ। त्यस्तै, नैतिक शिक्षा तथा चरित्र निर्माण, नागरिक तथा संवैधानिक शिक्षा र राष्ट्र, राष्ट्रियता तथा मातृभूमिप्रतिको समर्पण भाव विकास गर्ने शिक्षालाई प्रभावकारी रूपमा समेट्न आग्रह गरिएको छ।

समयअनुकूल शिक्षाका लागि डिजिटल तथा कृत्रिम बुद्धिमत्ता (AI) साक्षरतालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि अभिभावक संघले दिएको छ। शिक्षा र रोजगारीबीचको सम्बन्ध स्थापित गर्दै कृषि, उत्पादन र स्थानीय उत्पादनसँग विद्यालय शिक्षालाई जोड्नुपर्ने तथा स्थानीय भाषा, संस्कृति र परम्परागत ज्ञानलाई आधारभूत तहको पाठ्यक्रममा स्थान दिनुपर्नेमा जोड दिइएको छ।

त्यस्तै, स्वास्थ्य तथा किशोरावस्था शिक्षालाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्ने, परीक्षा प्रणालीमा सुधार गरी केवल घोकाइमा आधारित मूल्यांकन अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ। पाठ्यक्रममा सीप र व्यवहारिक ज्ञान समावेश गरिएअनुसार वैज्ञानिक, सीपमूलक र व्यवहारिक मूल्यांकन प्रणाली विकास गर्नुपर्ने उनीहरूको माग छ।

विद्यार्थीमा सिर्जनशीलता र प्रश्न गर्ने संस्कार विकास गर्नुपर्ने, अभिभावक शिक्षालाई पाठ्यक्रमको महत्वपूर्ण पक्ष बनाउनुपर्ने तथा विद्यालय–अभिभावक–समुदायबीचको साझेदारीलाई संस्थागत गर्नुपर्ने सुझावपत्रमा उल्लेख छ।

त्यसैगरी, समावेशी शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने, पाठ्यक्रममा आएको परिवर्तनसँगै शिक्षकको भूमिकालाई पनि समयसापेक्ष बनाउनुपर्ने तथा पाठ्यपुस्तकमा मात्र निर्भर नभई विविध सिकाइ सामग्री, डिजिटल सामग्री र प्रयोगशालाको प्रयोग बढाउनुपर्ने सुझाव दिइएको छ।

पाठ्यक्रम निर्माण तथा परिमार्जन प्रक्रियामा अभिभावक र अन्य सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा पनि सुझावपत्रले विशेष जोड दिएको छ।

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले विद्यालय शिक्षा विद्यार्थीको भविष्य निर्माणसँग प्रत्यक्ष जोडिएकाले पाठ्यक्रमलाई समयअनुकूल र व्यवहारिक बनाउन आवश्यक रहेको बताएका छन्। त्यस्तै, सामुदायिक विद्यालय अभिभावक संघका अध्यक्ष राम प्रसाद न्यौपाने र अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले पनि अभिभावकका सुझावलाई पाठ्यक्रम परिमार्जनमा समेटिनुपर्नेमा जोड दिएका छन्।

सुझावपत्रमा उल्लेखित विषयहरू समेटेर विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरिएमा शिक्षालाई विद्यार्थीको जीवन, समाज र भविष्यको रोजगारीसँग थप प्रभावकारी रूपमा जोड्न सकिने अपेक्षा गरिएको छ।