काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले थप सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ। कम्पनीले गत वैशाख २९ गतेनै पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न गरि करिब चार महिनामा थप सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
भदौ २२ गतेदेखि २६ गतेसम्म थप सर्वसाधारणमा निष्कासन गरेको ८ लाख ६३ हजार २०० कित्ता आईपीओ असोज ५ गते बाँडफाँट गरिएको हो ।
विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले गोलाप्रथाको माध्यमबाट ८६ हजार ३२० जना भाग्यमानी आवेदकहरुमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरेको जानकारी दिएको हो।
यस कम्पनीले गत माघ २९ गतेनै प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
थप सर्वसाधारणमा जारी भएको आईपीओ खरीदका लागि २३ लाख ५१ हजार ५६० जनाले आवेदन दिएको जानकारी विक्री प्रबन्धकको छ । कुल आवेदकहरुमध्ये २३ लाख ५ हजार २३३ जनाको आवेदन मात्र रितपूर्वक बनेको छ ।
सर्वसाधारणमा जारी भएको कुल कित्ता आईपीओमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरि बाँकी रहेको १० लाख ४० हजार कित्तामध्येबाट १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २० हजार ८०० कित्ता कर्मचारीहरु र ५२ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट भैसकेको छ ।
यस कम्पनीले कम्पनीले सोलुखुम्बु जिल्लामा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ ।
उक्त आयोजना निर्माणको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा छ भने प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८०९ रुपैयाँ ४५ पैसा छ ।
व्यापारिक उत्पादन गरिरहेको यस कम्पनी गत आर्थिक वर्ष ०८१÷८२ सम्म ७ करोड २६ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा छ ।




























