nada long banner ad

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा असोज २८ गते, ६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी असोज २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार साधारणसभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। दुवै शीर्षकमा ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँ बराबरको रकम वितरण गरिनेछ।

यसैगरी, सभाले गत आर्थिक वर्षका लागि अग्राधिकार शेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। उक्त लाभांश रकम ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ बराबर रहेको बैंकले जनाएको छ।

साधारणसभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने अवस्थामा नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनअनुसार संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची पनि सभामा समावेश गरिएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि बैंकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।त्यसअनुसार असोज ११ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।