भक्तपुर । भोटेकोशी बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएका रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न क्षेत्रका बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि जिल्ला प्याब्सन भक्तपुरले रु. १ करोड १९ लाख ३ हजार ७ सय ८५ रुपैयाँ ३४ पैसा सहयोग गरेको छ।
जिल्ला प्याब्सन भक्तपुरको आह्वानमा सदस्य विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयबाट संकलित उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने प्रयोजनका लागि केन्द्रीय प्याब्सनलाई हस्तान्तरण गरिएको हो। रकम प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, वरिष्ठ उपाध्यक्ष गोपाल आचार्य तथा केन्द्रीय प्याब्सनका उपाध्यक्ष एवं प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्मालाई हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा जिल्ला प्याब्सन भक्तपुरका अध्यक्ष राजन कास्पालले विपद्को समयमा सहयोग अभियानमा सहभागी सम्पूर्ण सदस्य विद्यालय, प्रधानाध्यापक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गरे। उनले विपद्का बेला निजी विद्यालय क्षेत्रले देखाएको एकता, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलता प्रशंसनीय रहेको बताए।
केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माले “विपद्मा परेको नागरिकलाई सहयोग गर्नु केवल दायित्व होइन, मानवीय धर्म पनि हो। विद्यालय परिवारले विद्यार्थीको शिक्षासँगै समाजप्रतिको जिम्मेवारी पनि निर्वाह गर्दै यति ठूलो सहयोग जुटाउनु निजी शिक्षा क्षेत्रको सामाजिक प्रतिबद्धताको उदाहरण हो।” भने।
अध्यक्ष कास्पालले संकलित सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारको तत्कालीन राहतसँगै पुनःस्थापनामा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे। जिल्ला प्याब्सन भक्तपुरले विपद्मा परेका नागरिकको सहयोगका लागि मानवीय सेवामा हातेमालो गर्न सबैमा आह्वानसमेत गरेको छ।





























