काठमाडौँ । चीनको सिजाङ (तिब्बत)तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन तथा पूर्वी नवलपरासीलगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले दुःख व्यक्त गरेको छ ।
बाढीबाट ठूलो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता हुनुका साथै धेरै घाइते भएको र निजी घरसम्पत्ति तथा सार्वजनिक संरचनामा अपूरणीय क्षति पुगेको भन्दै संघले प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकार र सम्बन्धित निकायले तीव्र पहल गर्नुपर्ने जनाएको छ ।
यसै क्रममा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरूले प्रधानमन्त्री राहत कोषमा रु. १ करोड १ लाख सहयोग गर्ने निर्णय गरेका छन् । संघका अध्यक्ष विकास दुगडले अन्य सदस्यहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
संघले विपद्पछिको पुनःस्थापना तथा पूर्वाधार निर्माणका लागि दीर्घकालीन योजना र विशेष सावधानी आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावनाअनुसार गरिएको सहयोगले प्रभावित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ ।
साथै, सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि सहयोगात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता संघले जनाएको छ ।





























