काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष श्री पशुपति देव पाण्डेको नेतृत्वमा प्रथम उपाध्यक्ष श्री वसन्त राज अधिकारी, महासचिव श्री भीम कुमार गिरी, प्रमुख कार्यकारी अधिकृत श्री सुयश खनाल र प्राविधिक सल्लाहकार श्री प्रकाश कुमार झा सम्मिलित प्रतिनिधिमण्डलले आज सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूसँग भेट गरी नेपाली तयारी पोशाक उद्योगको पुनरुत्थान, निर्यात अभिवृद्धि तथा औद्योगिक प्रतिस्पर्धात्मकता सुदृढीकरणका लागि आवश्यक नीतिगत तथा संरचनात्मक सुधारका विषयमा विस्तृत छलफल गरेको छ।
सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकार तयारी पोशाक उद्योगको उत्पादन तथा निर्यात प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्न सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।नेपालका दशैभरि विभिन्न क्षेत्रमा रहेका कच्चा पदार्थहरुको प्रशोधन सम्वन्धमा पनि चासो व्यक्त गर्नुभयो।
छलफलका क्रममा संघले आर्थिक वर्ष २००१/०२ मा नेपालको तयारी पोशाक उद्योगले एकै वर्ष करिब ४० करोड अमेरिकी डलरसम्मको निर्यात गरी देशको प्रमुख निर्यातमुखी उद्योगका रूपमा स्थापित भएको स्मरण गराउँदै सन् २००५ मा Multi Fiber Agreement (MFA) समाप्तिपछि निर्यातमा उल्लेखनीय गिरावट आएको, अधिकांश उद्योग बन्द हुन पुगेको, ठूलो लगानी जोखिममा परेको तथा लाखौं श्रमिकले रोजगारी गुमाउनुपरेको अवस्थाबारे जानकारी गराएको थियो। हाल तयारी पोशाक उद्योगको वार्षिक निर्यात करिब रु. १० अर्बमा सीमित रहेको छ।
छलफलका क्रममा Textile and Clothing Development Council गठन तथा बन्द रहेका तयारी पोशाक उद्योगलाई पुनः सञ्चालन गर्न रुग्ण उद्योगसम्बन्धी विषय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रक्रियामा रहेकोमा सम्माननीय प्रधानमन्त्रीज्यूले उक्त कार्य अविलम्व गर्न निर्देशन दिनुभयो।
त्यसैगरी, नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमको बुँदा नं. १३ अनुसार काठमाडौं उपत्यकाभित्र छरिएर रहेका तयारी पोशाक उद्योगहरूलाई व्यवस्थित गर्न उपत्यका नजिक Green Garment Village स्थापना गर्ने सम्बन्धमा सम्भावित स्थानहरूको पहिचान गरी सुझाव उपलब्ध गराउन सम्माननीय प्रधानमन्त्रीज्यूले संघलाई आग्रह गर्नुभयो। साथै, हेटौंडा कपडा उद्योगको प्रभावकारी सञ्चालन, आधुनिकीकरण तथा स्वदेशी कपडा उत्पादन अभिवृद्धिका लागि नेपाल सरकारले लिएको नीतिप्रति संघले स्वागत तथा धन्यवाद व्यक्त गरेको छ।
छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा उच्चस्तरीय राष्ट्रिय निर्यात परिषद (National Export Council) गठन, निर्यातमा प्रदान हुँदै आएको नगद अनुदानलाई निरन्तरता तथा विस्तार, Export Credit Insurance लागू गर्ने, अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी तथा सम्मेलन केन्द्र निर्माण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त (Accredited) परीक्षण प्रयोगशाला स्थापना, डिजिटल व्यापार तथा Cross-border E-commerce को विकास लगायतका विषयमा पनि विस्तृत छलफल भएको थियो। साथै “मेरो राष्ट्र, मेरो उत्पादन र विश्व बजार (My Nation, My Product and Global Market)” अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्वदेशी उत्पादनको प्रवर्द्धन, आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत छलफल गरिएको थियो।
यसैगरी, Fashion Design लगायत तयारी पोशाक क्षेत्रमा उत्पादन भइरहेका दक्ष युवा जनशक्तिलाई उद्योगसँग आबद्ध गर्दै स्टार्टअप, नवप्रवर्तन, उद्यमशीलता तथा रोजगारी सिर्जनामा जोड दिनुपर्ने र संघको उद्देश्य “Farm to Fiber, Fiber to Fabric, Fabric to Fashion, Fashion to Export” अवधारणामा आधारित एकीकृत मूल्य शृङ्खलाको विकास गरी स्वदेशी कच्चा पदार्थको अधिकतम उपयोगमार्फत आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको थियो।
नेपाल तयारी पोशाक उद्योग संघले उद्योगमैत्री नीति, पूर्वाधार विकास, व्यापार सहजीकरण तथा निर्यातमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन भएमा नेपाली तयारी पोशाक उद्योग पुनः नेपालको प्रमुख निर्यातमूलक उद्योगका रूपमा स्थापित हुने, ठूलो मात्रामा रोजगारी सिर्जना हुने, विदेशी मुद्रा आर्जनमा उल्लेखनीय वृद्धि हुने तथा समग्र राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।




























