सुरेन्द्र सुवेदी
विश्व राजनीति अहिले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा जटिल र संवेदनशील चरणमा पुगेको आभास हुन थालेको छ । पछिल्ला केही वर्षयता विश्वका विभिन्न भूभागमा विकसित भएका युद्ध, शक्ति राष्ट्रहरूबीचको बढ्दो प्रतिस्पर्धा, आर्थिक प्रतिबन्ध, साइबर आक्रमण, कृत्रिम बुद्धिमत्ताको सैन्य प्रयोग, अन्तरिक्ष प्रतिस्पर्धा, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, आपूर्ति शृङ्खलामा आएको अवरोध तथा विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ मोडमा पुर्याएको देखिन्छ।
युक्रेन–रुस युद्ध, मध्यपूर्वमा इजरायल–हमास द्वन्द्व, इरान र इजरायलबीचको प्रत्यक्ष तनाव, चीन–अमेरिका रणनीतिक प्रतिस्पर्धा, ताइवान जलडमरूको अवस्था, दक्षिण चीन सागरको विवाद, उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण र विश्वव्यापी सैन्य खर्चमा आएको तीव्र वृद्धिले विश्व राजनीति थप अस्थिर बनेको छ भने यी घटनाक्रमले धेरै मानिसमा विश्व फेरि अर्को ठूलो युद्धतर्फ उन्मुख भइरहेको त छैन भन्ने गम्भीर प्रश्न उठाएको छ।
शीतयुद्ध समाप्तिपछि लामो समयसम्म अमेरिका विश्वको प्रमुख शक्ति रहे पनि पछिल्ला दुई दशकमा चीनको तीव्र आर्थिक तथा सैन्य उदय, रुसको पुनः सक्रियता, भारतको बढ्दो अन्तर्राष्ट्रिय प्रभाव, युरोपेली सङ्घको रणनीतिक भूमिका तथा क्षेत्रीय शक्तिहरूको उदयले विश्वलाई क्रमशः बहुध्रुवीय व्यवस्थातर्फ अघि बढाइरहेको छ र आजको विश्व राजनीति केवल सैन्य शक्तिको प्रतिस्पर्धामा मात्र सीमित नरही आर्थिक प्रभाव, प्रविधि, दुर्लभ खनिज, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, ऊर्जा स्रोत, समुद्री मार्ग र अन्तरिक्ष प्रविधिसम्म फैलिएर नयाँ शक्ति प्रतिस्पर्धाको केन्द्र बनेको छ।
विशेष गरी मध्यपूर्व लामो समयदेखि तेल र प्राकृतिक ग्यासका विशाल भण्डार, धार्मिक, ऐतिहासिक तथा रणनीतिक महत्वका कारण विश्वको सबैभन्दा संवेदनशील भूभाग मानिँदै आएको छ ।
इजरायल र इरानबीचको दशकौँ पुरानो वैमनस्य पछिल्ला वर्षहरूमा प्रत्यक्ष सैन्य आक्रमणसम्म पुग्नु र इरान समर्थित विभिन्न समूहहरू तथा इजरायलबीच हुने संघर्षले क्षेत्रीय तनावलाई निरन्तर बढाउनुले यो अवस्था नियन्त्रणबाहिर जान लागेको देखिन्छ । त्यसको प्रभाव केवल मध्यपूर्वमा मात्र सीमित नरही विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार, समुद्री यातायात र विश्व अर्थतन्त्रमा समेत गम्भीर असर पर्छ नै ।
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति होर्मुज जलडमरूमार्फत हुने अनुमान गरिन्छ । यो रणनीतिक जलमार्ग कुनै कारणले अवरुद्ध भयो भने विश्वभर इन्धनको मूल्य तीव्र रूपमा बढ्न सक्ने, तेल आयातमा निर्भर राष्ट्रहरूमा मुद्रास्फीति बढ्ने, उद्योग प्रभावित हुने, यातायात महँगिने र खाद्यान्न उत्पादन तथा ढुवानीमा समेत प्रत्यक्ष असर पर्ने सम्भावना रहन्छ । जसका कारण विश्वका ठूला राष्ट्रहरू यो क्षेत्रमा हुने प्रत्येक घटनालाई अत्यन्त नजिकबाट नियालिरहेका हुन्छन्।
अर्कोतर्फ आजको विश्व राजनीतिमा सबैभन्दा महत्वपूर्ण प्रतिस्पर्धा अमेरिका र चीनबीच व्यापार युद्ध, अर्धचालक प्रविधि, कृत्रिम बुद्धिमत्ता, दुर्लभ खनिज, उच्च प्रविधि, साइबर सुरक्षा तथा सैन्य आधुनिकीकरणमा देखिएको छ भने ताइवानको विषयमा सिर्जित संवेदनशीलताले पनि राजनीतिलाई थप जटिल बनाएको छ ।
जहाँ चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्छ र अमेरिकाले यसको सुरक्षा र लोकतान्त्रिक व्यवस्थालाई समर्थन गर्दै आएको छ । यदि ताइवान क्षेत्रमा ठूलो सैन्य संघर्ष भयो भने त्यसले विश्व अर्थतन्त्रलाई अभूतपूर्व संकटमा पार्ने निश्चित छ । किनभने विश्वका अधिकांश अत्याधुनिक अर्धचालक उत्पादन त्यही क्षेत्रबाट हुने गरेका छन् ।
चार वर्षअघि सुरु भएको रुस–युक्रेन युद्धले युरोपको सुरक्षा संरचनालाई नै परिवर्तन गरिदिएको छ । यो युद्धका कारण ऊर्जा संकट, खाद्यान्न अभाव, विश्वव्यापी मुद्रास्फीति, रक्षा खर्चमा वृद्धि तथा अन्तर्राष्ट्रिय गठबन्धनहरूको पुनर्संरचना भएको देखिन्छ ।
युद्ध अझै पूर्ण रूपमा समाप्त नभएकाले यसले विश्व राजनीतिमा निरन्तर प्रभाव पारिरहेको छ। र पनि, विश्वमा हजारौँ परमाणु हतियार रहेको विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएका र परमाणु शक्ति सम्पन्न राष्ट्रहरूबीच प्रत्यक्ष युद्ध हुने सम्भावना धेरै विश्लेषकहरूले कम ठान्नुको प्रमुख कारण परस्पर सुनिश्चित विनाशको सिद्धान्त हो ।
जसअनुसार कुनै पनि पक्षले परमाणु युद्ध सुरु गरे अन्ततः दुवै पक्षले असह्य क्षति बेहोर्नुपर्ने हुन्छ । योसमेतका कारणले पनि परमाणु शक्ति राष्ट्रहरू अत्यन्त सावधानीपूर्वक अघि बढ्ने गर्छन्। आजका युद्धहरू केवल सैनिक र हतियारमा मात्र सीमित नरही आर्थिक प्रतिबन्ध, साइबर आक्रमण, सूचना युद्ध, सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाउने अभियान, कृत्रिम बुद्धिमत्ता, ड्रोन प्रविधि तथा उपग्रह प्रणाली आधुनिक युद्धका महत्वपूर्ण माध्यम बनेका छन् ।
जसले गर्दा कतिपय अवस्थामा गोली नचली पनि एउटा देशको अर्थतन्त्र, सञ्चार प्रणाली वा बैंकिङ संरचनामा ठूलो क्षति पुर्याउन सकिने अवस्था विकसित भएको छ । यस्तो तनाव बढ्दा शेयर बजारमा उतारचढाव आउने, लगानी घट्ने, विदेशी लगानीकर्ता सतर्क बन्ने, पर्यटन उद्योग प्रभावित हुने, अन्तर्राष्ट्रिय व्यापार महँगो बन्ने, आपूर्ति शृङ्खलामा अवरोध आउने र मुद्रा बजार अस्थिर हुने गर्छ ।
सुनजस्ता सुरक्षित लगानीतर्फ लगानीकर्ताको आकर्षण बढ्ने हुँदा नेपालजस्ता विकासोन्मुख मुलुकहरू पेट्रोलियम पदार्थको मूल्य वृद्धि, महँगो आयात, वैदेशिक रोजगारीमा पर्ने असर, पर्यटन क्षेत्रमा आउने दबाब तथा विदेशी सहायता र लगानीको सुस्त प्रवाहका कारण प्रत्यक्ष रूपमा युद्धमा संलग्न नभए पनि विश्व राजनीतिका यस्ता असरबाट पूर्ण रूपमा अछुतो रहन सक्दैनन्।
यस्तो असहज परिस्थितिमा के तेस्रो विश्वयुद्ध सम्भव छ रु भनेर गरिने प्रश्न र बहसका सन्दर्भमा विभिन्न विश्लेषकहरूको धारणा फरक–फरक पाइए पनि परमाणु प्रतिरोधको प्रभाव, विश्व अर्थतन्त्रको गहिरो अन्तरनिर्भरता, अन्तर्राष्ट्रिय व्यापारमा हुने ठूलो क्षतिको डर, संयुक्त राष्ट्रसंघ, क्षेत्रीय संगठन तथा विभिन्न कूटनीतिक संयन्त्रको सक्रियता र विश्व जनमतमा युद्धप्रतिको घट्दो समर्थनका कारण तनाव अत्यधिक बढेर जान सक्छ ।
सीमित क्षेत्रीय युद्ध भए पनि विश्वव्यापी प्रत्यक्ष युद्ध रोक्न सबै पक्षमाथि ठूलो दबाब रहने सम्भावना अधिक देखिन्छ। इतिहासले देखाएको छ कि प्रथम विश्वयुद्धपछि पनि विश्वले पुनर्निर्माण गर्यो, दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघ स्थापना भयो र शीतयुद्धको अन्त्य पनि प्रत्यक्ष परमाणु युद्धबिना नै सम्भव भयो । जसले विश्वमा जति ठूलो संकट आए पनि अन्ततः संवाद, वार्ता, कूटनीति र सम्झौताले नै स्थायी समाधानको बाटो खोल्ने महत्वपूर्ण शिक्षा दिन्छ ।
आज विश्वका अधिकांश राष्ट्र युद्धभन्दा आर्थिक विकास, व्यापार, प्रविधि, ऊर्जा सुरक्षा र जलवायु परिवर्तनजस्ता साझा चुनौती समाधानतर्फ केन्द्रित हुन चाहन्छन्।
सूचना र प्रविधिको युगमा युद्धका वास्तविक दृश्य केही मिनेटमै विश्वभर फैलिने हुँदा यसले नागरिक चेतनामा ठूलो प्रभाव पार्छ । र, सर्वसाधारणले युद्धको मानवीय मूल्य प्रत्यक्ष देख्न पाउने भएकाले अहिले विश्वभर शान्ति, मानव अधिकार, अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक समाधानको पक्षमा बलियो जनमत निर्माण भइरहेको देखिन्छ ।
जसमा लोकतान्त्रिक मुलुकका सरकारहरू जनमतप्रति संवेदनशील हुने भएकाले दीर्घकालीन युद्ध सञ्चालन गर्नु उनीहरूका लागि राजनीतिक रूपमा पनि चुनौतीपूर्ण हुन्छ।
निष्कर्षमा भन्नुपर्दा, विश्व राजनीति अहिले निस्सन्देह जटिल संक्रमणकालबाट गुज्रिरहेको छ र शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धा, क्षेत्रीय युद्ध, आर्थिक अस्थिरता र सुरक्षा चुनौतीहरूले आगामी महिनाहरू पनि उतारचढावपूर्ण रहने संकेत गरे तापनि यही अवस्थालाई आधार बनाएर विश्व अनिवार्य रूपमा तेस्रो विश्वयुद्धतर्फ नै गइरहेको निष्कर्ष निकाल्नु तथ्यमा आधारित हुँदैन । इतिहासमा संकटसँगै समाधान पनि जन्मिने गरेको देखिएकै छन् ।
विश्वका राष्ट्रहरूबीच प्रतिस्पर्धा तीव्र भए पनि उनीहरू आर्थिक रूपमा एकअर्कामा गहिरो गरी निर्भर रहेकाले यही अन्तरनिर्भरता, अन्तर्राष्ट्रिय कूटनीति, नागरिक दबाब र शान्तिप्रतिको साझा चाहनाले विश्वलाई अन्ततः संवाद र सहकार्यतर्फ नै फर्काउने सम्भावना अझ बढी बलियो देखिन्छ। भलै, तेस्रो विश्वयुद्ध भइनहाले पनि विश्व द्वन्द्वको भूमरीमा भने परिसकेको र परिरहने पक्का छ ।



























