सुनसरी घटनामा संयमता अपनाउन सरकारको अपील

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा १० साउनमा भएको घटना र पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेका हुन् ।

सरकारले घाइते हुनेहरूको निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराएको छ । घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता घटना हुन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरेको र समितिले काम सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने सरकारको भनाइ छ ।

सरकारले धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्न आग्रह गर्दै धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन अपिल गरेको छ । साथै उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसारण नगर्न र त्यस्ता सूचनाबाट प्रभावित नभई संयमता अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

मुलुकमा शान्ति सुव्यवस्था तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम र आम नागरिकलाई सरकारले आह्वान गरेको छ ।