काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
लामो समयदेखि नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले अब पूर्णकालीन नेतृत्व पाएको छ। डा। भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
साथै उनी शेयरबजारका विज्ञका रुपमा चिनिन्छन् । उनले करिब तीन दशक नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, सार्वजनिक ऋण व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, मानव संशाधन विभाग तथा वित्त कम्पनी सुपरिवेक्षण विभाग लगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
उनको नेतृत्वमा नेपालको पुँजी बजार अझ पारदर्शी, विश्वसनीय र गतिशील बन्ने विश्वास लगानीकर्ताले लिएका छन् ।




























