काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री माननीय गिता चौधरीसँग नेपालका लागि स्पेनका गैर-आवासीय राजदूत H.E. Mr. Juan Antonio March Pujol ज्यूबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
भेटका क्रममा कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेशन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो।
भेटका क्रममा राजदूतज्यूले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) का महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताउनुभयो।
सो सम्बन्धमा माननीय मन्त्रीले विषयलाई परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढाइने जानकारी दिनुभयो। राजदूतज्यूले गुणस्तरीय कृषि उत्पादन, कृषि ट्रेसबिलिटी प्रणाली तथा कृषि क्षेत्रमा लगानी र प्रविधि आदानप्रदानका क्षेत्रमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो।
उहाँले स्पेनको ज्वालामुखीय क्षेत्रमा विकसित वाइन उत्पादन, जैतुन तेलको ट्रेसबिलिटी प्रणाली, सुन्तला, सिट्रस तथा अंगुर खेतीका अभ्यासका साथै जल अभाव भएका टापु क्षेत्रमा रातको समयमा पानी उठाउने प्रविधिबारे जानकारी गराउनुभयो।
उहाँले स्पेनमा आयोजना हुने कृषि प्रदर्शनी तथा लगानी सम्मेलनहरूमा उत्पादक, लगानीकर्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने जानकारी दिँदै नेपाललाई पनि यस्ता अवसरमा सहभागी हुन आग्रह गर्नुभयो।
साथै महिलासम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा गरिएको जानकारी दिनुभयो। माननीय मन्त्रीले नेपाल सरकारले कृषि डिजिटलाइजेशन, युवा सशक्तीकरण तथा कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभयो।
उहाँले नेपालमा भौगोलिक संकेत (GI) दर्ता प्रक्रिया सुरु गरिएको र सुन्तला तथा किवीका लागि पाइलट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
मन्त्रीले नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना भए पनि प्रविधि तथा जलवायु सहनशील कृषि प्रणालीको आवश्यकता रहेको उल्लेख गर्दै परम्परागत कृषिलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
साथै वन संरक्षणका प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै स्पेनको अनुभव तथा विज्ञताबाट सिक्न नेपाल इच्छुक रहेको बताउनुभयो।
भेटमा नेपाल–स्पेनबीच कृषि, प्रविधि, जल व्यवस्थापन तथा दिगो कृषि विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको छ।


























