मध्यपुर, चैत २८ — मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा श्री राज गणेश धिमे खलःको सहकार्यमा शनिबार खुला धिमे बाजा प्रतियोगिता २०८२ सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरलगायत विभिन्न स्थानका गरी कुल ३७ वटा धिमे खलःहरूको उत्साहजनक सहभागिता रहेको थियो।
परम्परागत नेवार सांस्कृतिक बाजा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागी धिमे खलःहरूले आआफ्नो उत्कृष्ट प्रस्तुति दिएको थियो।
प्रतियोगिताको नतिजा अनुसार प्रथम स्थान श्री नास धिमे खलः, चन्द्रागिरि नगरपालिका काठमाडौंले हासिल गर्न सफल भएको छ।
त्यसैगरी, दोस्रो स्थान ताःथलि धिमे खलः, चाँगुनारायण नगरपालिका भक्तपुरले प्राप्त गर्दा तेस्रो स्थान सनस्टार धिमे खलः, कीर्तिपुर नगरपालिका काठमाडौंले हात पारेको थियो ।
नयाँ बजार धिमे खलः, कीर्तिपुरले सान्त्वना पुरस्कार जितेको थियो ।
कार्यक्रमले धिमे बाजा संस्कृतिको संरक्षण र नयाँ पुस्तामा यसको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको आयोजकले जनाएको छ।