काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई लक्षित गर्दै विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा सम्बन्धी राहत सुविधा उपलब्ध गराइएको छ।
रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँ जिल्लाका बाढी प्रभावित नागरिक तथा गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपासका प्रभावित बासिन्दालाई लक्षित गरी राहत कार्यक्रम सञ्चालन गरिएको हो।
यसअन्तर्गत बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न नसकिने अवस्थामा रहेका एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई पुनः जडान गरिने व्यवस्था गरिएको छ। एनटी फाइबर सेवा प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि समाप्त भएमा तीन महिनासम्म निःशुल्क समय थप गरिने जनाइएको छ।
बाढी प्रभावित क्षेत्रका ग्राहकको नाममा रहेका सिमकार्ड पुनः वितरण गरिनेछ। त्यसका लागि पाँचवटा सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने, सम्बन्धित नम्बरको अन्तिम लोकेसन बाढी प्रभावित क्षेत्रमा हुनुपर्ने तथा केवाईसी अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
बाढीका कारण विभिन्न स्थानमा फसेका व्यक्तिसँग सञ्चार सम्पर्क कायम गर्न नेपाली सेनाको समन्वयमा २१० थान सिमकार्ड उपलब्ध गराइएको छ। त्यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मुख्य सर्भर र ब्याकअप सर्भरबीच निःशुल्क डार्क फाइबर कनेक्सनसमेत स्थापना गरिएको छ।
बाढी प्रभावित नागरिकलाई मनोवैज्ञानिक सहयोग तथा परामर्श सेवा उपलब्ध गराउने मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सीएमसी–नेपाल) को टोल–फ्री नम्बरको मासिक बिल तीन महिनासम्म निःशुल्क गरिने व्यवस्था मिलाइएको छ।
यसका साथै राहत सङ्कलन, व्यवस्थापन तथा विपद् सम्बन्धी सूचना प्रवाहका लागि काठमाडौं, भरतपुर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उच्च गतिको निःशुल्क इन्टरनेट सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कर्मचारीको योगदानसहित विभिन्न शीर्षकमा झन्डै २० करोड रुपैयाँ बराबरको सहयोग यसअघि नै उपलब्ध गराइसकिएको छ। बाढीका कारण क्षति पुगेका करोडौं रुपैयाँ बराबरका दूरसञ्चार पूर्वाधारको पुनर्निर्माण कार्य पनि जारी रहेको कम्पनीले जनाएको छ।




























