कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले राजस्व संकलनको बिग्रिएको लय र चुहावट नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक अवधिको राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले यस वर्षको राजस्व संकलनका लागि लक्ष्य, समय अवधि र उद्देश्य स्पष्ट रहेको भन्दै उहाँले भन्सार र राजस्व प्रशासनका अधिकारीहरूलाई अर्जुनदृष्टि लगाएर काम गर्न निर्देशन दिनुभयो।

नयाँ आर्थिक वर्षको राजस्व संकलन लक्ष्यलाई मिसन मोडमा अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो। कर उठाउने लक्ष्य वैज्ञानिक बनाउनुपर्नेमा जोड दिँदै उहाँले कर संकलनको जिम्मेवारीमा रहेका कर प्रशासकहरूले अनुकूल वातावरणबाट बाहिर निस्किएर यथार्थमा जोड दिनुपर्ने उहाँको भनाइ छ।

भन्सार, राजश्व र आन्तरिक करतर्फका कर प्रशासकहरूलाई सरकारको राजस्व लक्ष्य प्राप्तिका लागि आवश्यक सबै खाले स्रोत साधन उपलब्ध गराउन राज्य तयार रहेको मन्त्री वाग्लेले बताउनुभयो।

नागरिकलाई करको दायरामा ल्याउन सार्वजनिक जनचेतना अभिवृद्धि गर्न, सरकारले घोषणा गरेको छुट योजनालाई कार्यान्वयन गर्न तथा करदाता प्रोत्साहनको उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उहाँले निर्देशन दिनुभयो।

सो क्रममा उहाँले राजस्व छली रोक्न प्राविधिक उपकरण प्रयोगमा जोड दिन भन्सार र आन्तरिक राजस्व विभागलाई निर्देशन दिनुभयो। उहाँले भन्सार विभागलाई तीन महिनाभित्रै देशका प्रमुख १४ भन्सार कार्यालयमा सवारीसाधन स्क्यानर मेसिन जडान गर्न पनि निर्देशन दिनुभयो।

उहाँले यसअघि सञ्चालनमा आएर बिग्रिएका स्क्यानर मेसिन पनि मर्मतसम्भार गरेर सञ्चालनमा ल्याउन कार्यालयहरूलाई निर्देशन दिनुभयो।

भन्सार र करको चुहावट भइरहेका क्षेत्रहरूको सूक्ष्म अनुगमन गर्न र व्यवसायीलाई तर्साएर होइन, प्रणाली सिकाएर करको दायरामा ल्याउन पनि उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै अर्थसचिव डा। घनश्याम उपाध्यायले कर र राजस्वका विविध क्षेत्रको ह्रासको कारण पहिल्याउन मातहतका अधिकृतहरूलाई निर्देशन दिनुभयो। बाहिर देखिएको आर्थिक गतिविधि र कर तथा राजस्वको तथ्याङ्कमा केही बेमेल रहेको भन्दै उहाँले कमजोरी के(कहाँ रह्यो हेर्न र सच्याउन भन्नुभयो।

कार्यक्रममा मन्त्रालयका राजस्व महाशाखा प्रमुख एवम् सहसचिव उत्तरकुमार खत्रीले राजस्व संकलनको विगत, वर्तमान स्थिति र आगामी आर्थिक वर्षको लक्ष्य प्राप्तिको चुनौतीबारे प्रस्तुतीकरण दिनुभएको थियो।

कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक यमलाल भूसालले गत वर्ष भन्सार विभागले पाएको राजस्व लक्ष्य र प्राप्तिको अवस्था तथा आगामी वर्षको लक्ष्य प्राप्तिको योजना प्रस्तुत गर्नुभएको थियो।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले सरकारले घोषणा गरेको राजस्व छुट योजना र कर प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि विभाग लागिपरेको बताउनुभयो ।