काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्र, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा सुधारका कामहरु शुरु भएको बताउनु भएको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले तत्काल गर्न सकिने सुधारका कामहरु शुरु गरी नतिजासमेत देखिन थालिसकेको र दीर्घकालीन सुधारका लागि पर्याप्त गृहकार्यसहित विषयगत रुपमा अध्ययन भईरहेको उहाँले बताउनु भयो ।
छोटो अवधिमा यी सबै विषयलाई एकैपटक व्यवस्थित गर्न चुनौती भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको उहाँले स्पष्ट पार्नु भयो ।
हाल तत्काल फोरजी सेवा पूर्ण रूपमा बन्द गरेर फाइभजीमा जाने अवस्था नरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले भन्नु भयो, “अहिलेको चरणमा फोरजीलाई अधिकतम प्रभावकारी बनाउने र दोस्रो चरणमा फाइभजी कार्यान्वयन गर्ने तयारी भइरहेको छ ।
फाइभजी सेवा सुरु गर्ने कार्य सरकारको प्राथमिकतामा छ र त्यसका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरणसम्बन्धी प्रक्रिया समेत अगाडि बढाइएको छ ।
” दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन थप मोबाइल अपरेटरलाई अनुमति दिने बारेको सञ्चारकर्मीको जिज्ञासामा सञ्चार मन्त्री डा. तिमिल्सिनाले यसबारे सरकारले अध्ययन गरिरहेको र आवश्यकताका आधारमा चाँडै निर्णय लिईने बताउनुभयो ।
हाल दुई वटा कम्पनीले यस्तो सेवा दिइरहेकोमा तेस्रो मोबाइल अपरेटरका लागि सम्भावना र आवश्यकता पहिचानसहितको प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।
साथै, नेपाल टेलिकमलाई बलियो बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनताको हितमा उपयोग गर्ने तथा क्षेत्रलाई सुदृढ बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको पनि उहाँले उल्लेख गर्नु भयो ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र सरकारी लगानीको सेवा प्रदायक नेपाल टेलिकमसँग मन्त्रालयले नियमित छलफल र समन्वय गरिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमसँग सम्बन्धित बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका विषयमा सरकार गम्भीर रहेको बताउनुदभयो ।
यसबारे विद्यमान नियम कानूनभित्र बसेर विवाद सिर्जना नहुने गरी पारदर्शीपूर्ण ढंगले समाधान खोजिने उहाँले स्पष्ट पार्नु भयो ।
सञ्चार मन्त्री तिमिल्सिनाले डेटा सेन्टर तथा डिजिटल पूर्वाधार विकासका विषयमा बहुराष्ट्रिय कम्पनीहरूको चासो, त्यसको सम्भावना तथा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे पनि अध्ययन भईरहेको बताउनु भयो ।
जनताको करबाट सिर्जित सम्पत्तिको दुरुपयोग तथा प्रणालीगत भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको पनि सञ्चार मन्त्री तिमिल्सिनाको भनाई छ ।
कुनै निकाय, संस्था वा कर्मचारीबाट गलत कार्य भएको सूचना प्राप्त भए राज्यका निकाय सक्रिय बनाइने उल्लेख गर्दै उहाँले आवश्यक जानकारी प्रत्यक्ष रूपमा मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गर्नुभयो ।
कानून, विधि र प्रक्रिया भन्दा माथि कोहि नहुने स्पष्ट पार्नुहुँदै उहाँले कहिँकतै कानून र विधि विपरितका काम भएको देखिएको सञ्चारमाध्यामले समेत निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनु भयो ।
लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिता आवश्यक रहेको धारणा व्यक्त गर्दै मन्त्री तिमिल्सिनाले मिडिया क्षेत्र बलियो भएन भने लोकतन्त्र पनि सुदृढ हुन नसक्ने बताउनु भयो ।
विज्ञापन वितरण, सञ्चारमाध्यमको दिगोपन तथा श्रमजीवि पत्रकारहरूको हितका विषयमा आवश्यक अध्ययन गरेर नीतिगत सुधार गरिने उहाँले बताउनु भयो ।
सरकारले विज्ञापन वितरण तथा छनोट प्रक्रियालाई पारदर्शी बनाउने योजनाका साथ काम गरिरहेको उल्लेख गर्दै उहाँले प्रक्रियाबाहिर कुनै निर्णय नहुने स्पष्ट पार्नु भयो ।

























