डा. सुबोध कुमार गुप्ताको उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारी घोषणा

सक्षम, दूरदर्शी र उत्तरदायी नेतृत्व स्थापित गर्ने उद्देश्य

वीरगञ्ज । नेपालको औद्योगिक तथा सामाजिक क्षेत्रमा सक्रिय उद्यमी डा. सुबोध कुमार गुप्ताले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनमा कार्यकारिणी सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।

निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै आएका गुप्ताको उम्मेदवारीलाई व्यवसायी वृत्तमा महत्वका साथ हेरिएको छ।

मोहित ग्रुपका अध्यक्षसमेत रहेका गुप्ताले मोहित एग्रो इन्डस्ट्रिज, मोहित पल्सेस, मोहित फूड प्रोडक्ट्स र मोहित ग्रीन फिल्ड्समार्फत औद्योगिक विस्तारसँगै हजारौँलाई रोजगारी उपलब्ध गराउनुभएको छ।

खाद्यान्न उत्पादनमा आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यसहित उहाँले उद्योग क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएको छ।

सामाजिक सेवामा समेत सक्रिय गुप्ताले पोखरिया अस्पतालमा ३५ बेडको आइसियु कक्ष तथा नारायणी अस्पतालमा ३५ बेडको पिआइसियु कक्ष निर्माणमा सहयोग पुर्याउनुका साथै कोभिड–१९ महामारीका बेला स्वास्थ्य उपकरण उपलब्ध गराउनुभएको थियो।

साथै, वीरगञ्ज उद्योग वाणिज्य संघको सभा हल निर्माणमा समेत उहाँको योगदान उल्लेखनीय छ। स्वास्थ्य र सामाजिक सेवामा पुर्याएको योगदानका लागि उहाँ ‘प्रवल जनसेवा श्री पदक’ सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसक्नुभएको छ।

शिक्षाक्षेत्रमा पनि सक्रिय गुप्ता ठाकुरराम क्याम्पसको व्यवस्थापन समितिमा आवद्ध हुनुहुन्छ भने अन्तर्राष्ट्रिय स्तरको नेतृत्व सम्बन्धी पीएचडी सम्मान प्राप्त गर्नुभएको छ।

नेपाल चामल, दाल तथा तेल उद्योग संघका निवर्तमान अध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा मधेस विश्वविद्यालयका सिनेट सदस्यसमेत रहिसक्नुभएका गुप्ता हाल महासंघको कार्यकारिणी सदस्य र व्यापार समितिको सभापतिका रूपमा कार्यरत हुनुहुन्छ।

सधैं व्यवसायीका हकहितका सवालमा स्पष्ट र दृढ रूपमा प्रस्तुत हुँदै आएका गुप्ताले निजी क्षेत्रमैत्री नीतिको वकालत गर्दै आएका छन्।

आगामी निर्वाचनमार्फत सक्षम, दूरदर्शी र उत्तरदायी नेतृत्व स्थापित गर्ने उद्देश्यसहित उहाँले उम्मेदवारी दिनुभएको बताइएको छ।