राष्ट्र बैंक र नाफिजको सहकार्यमा आर्थिक पत्रकारलाई दुई दिने तालिम सुरु

काठमाडौं ।आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल राष्ट्र बैंकको सहकार्यमा आर्थिक पत्रकारहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । नाफिजमा आबद्द आर्थिक पत्रकारहरुको लागि वर्तमान आर्थिक तथा बैंकिङ मामिलासम्बन्धि अभिमुखीकरण कार्यक्रम बुधबारदेखि धुलिखेलमा सुरु भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले हरेक आर्थिक विषयलाई विभिन्न आधारमा छुट्टाएर विश्लेषण गरिनु पर्ने बताए। हरेक विषयले विभिन्न क्षेत्रमा पार्ने प्रभावको छुट्टाछुट्टै विश्लेषण गर्न सक्ने क्षमता आर्थिक पत्रकारमा हुनुपर्ने उनले बताए ।
यस्ता कार्यक्रमले यस्ता बिषयबस्तुमा आर्थिक पत्रकारमा विश्लेषण गर्ने क्षमता बढाउन सहयोग पुग्ने उनको भनाई थियो।

उनले संस्थागत संरचना कमजोर भएकै कारणले नेपाल आर्थिक विकासमा पछाडी परेको बताए। भविष्यको आँकलन गर्ने क्षमता कमजोर भएको र बनेका योजनाको कार्यान्वयन पाटो पनि कमजोर भएकोले समस्या देखिएको उनको भनाइ छ । अब पनि नविन प्रविधि प्रयोग गर्न नसके देश अझै पनि पछाडी नै परिरहने उनले बताए ।

उनले जनताको मनोबल कमजोर भएको अवस्थामा सरकार नै अघि सरेर प्रतिफल आउने योजनामा खर्च गर्न अघि बढ्नु पर्ने बताए। त्यसको साथै निजी क्षेत्रलाई पनि प्रतिफल आउने योजनामा लगानी गर्नको लागि सरकारले प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । पछिल्लो समय कर्जाको माग नहुँदा बैंकहरुमा तरलता थुप्रीएको छ । अब सरकारले अग्रसर भएर खर्च गर्नुपर्ने उनले बताए ।