nada long banner ad

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घ (यूएन) को ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलुका ७ बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा अन्य अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।

दोहाबाट असोज ७ गते न्युयोर्क पुग्ने प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन्। सोही दिन उहाँ संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुगेर भ्रमणसम्बन्धी ब्रिफिङ लिनुहुने कार्यक्रम छ।

भ्रमणका क्रममा असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुने तय भएको छ। त्यसपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।

प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहा हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ। उहाँ असोज १० गते काठमाडौं आइपुग्ने तालिका रहेको जनाइएको छ।