nada long banner ad

ग्लोबल आइएमई सेक्यूरिटिजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौं । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा सञ्चालित ग्लोबल आइएमई सेक्यूरिटिज लिमिटेडको तेस्रो वार्षिक साधारणसभा असोज ४ गते काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको छ।

कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा ग्लोबल आइएमई बैंकका प्रतिनिधि, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधि तथा अन्य गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले चालु आर्थिक वर्ष कम्पनीका लागि लाभांश वितरणका दृष्टिले चुनौतीपूर्ण रहेको बताए। कठिन परिस्थितिका बाबजुद कम्पनीको सञ्चालन निरन्तर राख्न सहयोग गर्ने एकमात्र सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडप्रति उनले सञ्चालक समितिका तर्फबाट आभार व्यक्त गरे।

उनले नियामक निकाय, व्यावसायिक साझेदार तथा कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा राजनीतिक स्थायित्व फर्किने विश्वास व्यक्त गरे। साथै, थप गुणस्तरीय सेवा प्रदान गर्दै सबै सरोकारवालाको हितमा काम गर्ने प्रतिबद्धता जनाए।

सभामा सञ्चालकद्वय विकासराज पाण्डे र विजय कार्की, प्रमुख कार्यकारी अधिकृत प्रवीना पाण्डे तथा ग्लोबल आइएमई बैंकका प्रतिनिधि टीकाराम पाण्डेले कम्पनीको अवस्था तथा आगामी कार्यदिशाबारे आ–आफ्ना धारणा राखेका थिए।

साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

त्यस्तै, चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव तथा प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्ताव पनि सभाले सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ।