काठमाडौं । आजदेखि नेकपा एमालेको कन्द्रीय कमिटीको बैठक सुरु हुदैछ। बैठक ललितपुरको रामबाग मलमा आजदेखि तीन दिनसम्म चल्नेछ।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहसका विषय विवादित बनिरहेका बेला राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी अघि बढाएको छ।
आइतबार बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाउने प्रस्ताव केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ। परिषद् बैठक बोलाउने विषयमा केन्द्रीय कमिटीबाट निर्णय हुने जनाएको छ।
जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा महाधिवेशन गरेर नयाँ केन्द्रीय कमिटी चयन गरे पनि प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको धक्कापछि एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको आवाज उठ्दै आएको छ। ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेका नेताहरू नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्।
चुनावको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदललाई नेतृत्व पुनर्गठन गर्नुपर्ने सुझाव आएका थिए । महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको मस्यौदामा नेतृत्व पुनर्गठनको सुझावलाई समेटिएको थियो। तर थापाले त्यसमा बाझिने गरी अर्को प्रतिवेदन कार्यदलमा प्रस्तुत गरेका थिए।
पार्टी उपमहासचिव एवं कार्यदल सदस्य लेखराज भट्टले महासचिव पोखरेलको प्रतिवेदनमा समावेश भएको नेतृत्व पुनर्गठनको विषय हटाएर एउटै प्रतिवेदन बनाइएको बताए। उनका अनुसार एउटै प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल हुनेछ।
एमाले विधानको धारा १२ मा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बोलाउन सक्ने व्यवस्था छ। राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरू अर्को राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि निर्वाचित नभएसम्म राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्य रहन्छन्। दुई राष्ट्रिय महाधिवेशनको बीचमा सामान्यतया एक पटक राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना हुने व्यवस्था छ।
परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, केन्द्रीय कमिटी तथा केन्द्रीय निकायको समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार राख्छ।
पुनर्गठनको विषय कार्यदलको प्रतिवेदनको अनुसूचीमा उल्लेख गरिए पनि यसलाई आन्तरिक छलफलमा लैजाने नेताहरूले बताएका छन्।
पार्टी नीति र नेतृत्व पुनर्गठनका लागि तत्काल ओलीको विकल्पमा जाने निर्णय नभए पनि एमालेमा अन्तरसंघर्ष जिल्ला तहसम्म देखिएको छ।
ओली पक्षकै नेताहरू विकल्पमा उभिएपछि एमालेको अन्तरसंघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। आज सुरु हुने केन्द्रीय कमिटी बैठकमा यो बहस प्रमुखताका साथ उठ्ने देखिएको छ। महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय महत्त्वपूर्ण एजेन्डा बनिसकेको बताएका छन्।




























