काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीको प्रतिनिधिमण्डलले बुधबार उद्योग मन्त्रालयमा पुगेर उद्योग मन्त्री गौरी यादवलाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।
एभरेस्ट बैंकमार्फत जारी गरिएको उक्त चेक हस्तान्तरण गर्दै कम्पनीका प्रतिनिधिहरूले प्राकृतिक विपद्को कठिन परिस्थितिमा पीडित परिवारलाई राहत पुग्ने विश्वासका साथ सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गरिएको बताए।
सहयोग रकम बुझ्दै उद्योग मन्त्री यादवले विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले राहत तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताउँदै कम्पनीप्रति धन्यवाद व्यक्त गरे।
हाल देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ।





























